मैदान छाडेर भाग्ने कुरा आउँदैन : नेपाल
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कसैले तर्साउँदैमा मैदान छाडेर भाग्न नहुने बताएका छन्।
शनिबार अनेरास्ववियूको अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै नेपालले गलत कुराको सामना गरेर अघि बढ्नुपर्ने बताए। उनले भने, “कसैले तर्साउँदैमा तर्सेर भाग्ने कुरा आउँदैन, मैदान छाडेर भाग्ने कुरा आउँदैन।”
नेता नेपालले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए। “लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गर्दै अगाडि बढिरहेका छौं। अरूका कुरा सुन्छौं, आलोचना पनि सुन्छौं। सही छ भने ग्रहण गर्छौं, गलत छ भने विनम्र भएर जवाफ दिन्छौं, खण्डन गर्छौं,” उनले थपे, “निरंकुश र स्वच्छेचारी प्रवृत्तिलाई नियन्त्रण गर्ने हो, पार्टीलाई मर्यादाभित्र राख्ने हो।”
नेता नेपालले व्यक्तिवादलाई त्याग्नुपर्ने बताए। “सामूहिकतामा विश्वास गर्ने हो, व्यक्तिवादलाई त्याग्ने हो। म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो,” उनले भने, “संस्थागत परिपाटीलाई आत्मसात् गर्दै सबै खालका अराजक प्रवृतिलाई समाप्त पार्ने हो।”
एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि जालझेल गरिरहेको उनको आरोप थियो। “सर्वोच्च अदालतको फैसलाले गलत बाटोमा गइरहेको देशलाई ठीक बाटोमा ल्याउने काम गरेको छ। संविधानको संरक्षण भएको छ, सही व्याख्या गरिएको छ। गलत कदमलाई सच्याउने काम भएको छ,” ओलीलाई इंगित गर्दै नेपालले भने, “फेरि प्रधानमन्त्री बन्छु कि भनेर कसैले जालझेल नगरोस्।”