महाधिवेशन तयारीका लागि निधि, कोइराला र सिंहबीच छलफल
नेपाली कांग्रेसको १४औं महाधिवेशनको तयारीका लागि विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको छ।
शनिबार चाक्सीबारीस्थित सिंहको निवासमा तीनै नेताबीच छलफल भएको जनाएको छ। तीनै जना मिलेर महाधिवेशनमा जाने विषयमा छलफल केन्द्रित रहेको निधिको सचिवालयले जनाएको छ।
“तीन जनामध्ये एक जना सभापतिको उम्मेदवार बन्ने विषयमा छलफल भएको छ। तीनै जना नेता यसमा सकारात्मक देखिएका छन्,” निधिको सचिवालय स्रोतले भन्यो। यस विषयमा थप छलफल गर्ने जनाइएको छ।
यसअघि पनि उनीहरूबीच पटकपटक छलफल भएको थियो। कहिले कोइराला निवासमा त कहिले निधि निवासमा छलफल गर्दै आएका छन्।
कांग्रेसकाे १४औं महाधिवेशन आगामी १६-१९ भदाैमा काठमाडाैंमा गर्ने तय भएकाे छ। तर, क्रियाशील सदस्यता विवादले वडा अधिवेशन नै राेकिएकाे छ।