जसपाको केन्द्रीय कार्यकारिणीबाट महन्थ ठाकुरसहित १६ जनालाई हटाइँदै
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट निकाल्ने तयारी गरेको छ।
निर्वाचन आयोगमा मत विभाजन हुँदा अर्का अध्यक्ष ठाकुरको पक्षमा हस्ताक्षर गरेका सबैलाई केन्द्रीय कार्यकारिणी समितिको बैठकले निष्कासन गर्न लागेको हो। केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राई भन्छन्, “आज मध्याह्न १ बजे बस्ने बैठकले उहाँहरूको विषयमा निर्णय गर्छ।”
ठाकुर समूहका १६ जनालाई निष्कासन गरेर नयाँ सदस्य राखिने तयारी भएको राईले जानकारी दिए।
आयोगमा हस्ताक्षरका वेला तटस्थ बसेका रेशमलाल चौधरीलाई पार्टीबाट निकाल्ने वा ननिकाल्ने भन्ने विषय छलफलमा रहेको एक नेता बताउँछन्। निलम्बित सांसद चौधरीले निर्वाचन आयोग पुगे पनि यादव र ठाकुर कसैको पक्षमा पनि हस्ताक्षर गरेका थिएनन्।
को को पर्दै छन् कारबाहीमा?
गत सोमबार निर्वाचन आयोगबाट आधिकारिकता पाएको यादव पक्षले अध्यक्ष महन्थ ठाकुर र पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोसहित १६ जनालाई निकाल्न लागेको हो।
यस्तै, केन्द्रीय कार्यकारिणी सदस्यहरू वृषेशचन्द्र लाल, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, अनिल झा, निर्जला राउत, चन्दा चौधरी, जितेन्द्रप्रसाद सोनार (सोनल), उमाकान्त झा, राजकुमार लेखी, अकबाल अहमद शाह, दानबहादुर विश्वकर्मा, सुनीलकुमार झा र केशव झा जसपाबाट निष्कासनमा पर्ने ती नेताले जानकारी दिए।
यसअघि ठाकुर पक्षमा रहेका राजकिशोर यादव, मनीष सुमन लगायतले भने उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका थिए।
ठाकुर नेतृत्वको साविक राष्ट्रिय जनता पार्टी र यादव नेतृत्वको समाजवादी पार्टीबाट २६/२६ जना राखेर केन्द्रीय कार्यकारिणी सदस्य बनाउने सहमति भएको थियो। यादव पक्षले एक जना सदस्य नपठाउँदा केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना थिए। उनीहरूमध्ये ३४ जना एकातिर उभिएपछि यादव समूहलाई आयोगले आधिकारिकता दिएको थियो।