चीन र अमेरिका अध्ययन गरेका डा. विश्व पौडेल योजना आयोगको उपाध्यक्ष
विभिन्न अनुमानका बीच सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ।
नेपाली कांग्रेस निकट अन्य वरिष्ठ अर्थशास्त्रीलाई उपाध्यक्ष नियुक्त गर्ने चर्चाका बीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थशास्त्री पौडेललाई सरकारको योजना र नीतिको सल्लाहकार मानिने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष चयन गरेको हो।
काठमाडौं विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत डा. पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
पौडेलले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थिए। त्यसअघि उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक अध्ययन गरेका थिए।
चीन र अमेरिकाको अर्थतन्त्र, समाज लगायतका विषयका उनी अध्येता हुन्। नेपालको आर्थिक इतिहासका अध्येता स्व. महेशचन्द्र रेग्मीको अध्ययन र लेखनका विषयमा पनि पौडेलको गहिरो ज्ञान छ।
अर्थशास्त्र र इतिहास विषयमा दख्खल राख्ने पौडेलका सम्बन्धित विषयमा दर्जनौं लेख प्रकाशित छन्। साहित्यमा समेत रुचि राख्ने उनका विभिन्न साहित्यिक रचना पनि प्रकाशित छन्।
यसअघि उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को नेपालस्थित कार्यालय तथा मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा अर्थशास्त्रीका रूपमा समेत काम गरिसकेका छन्।
उनी युलेन्स एजुकेशन फाउन्डेसनका बोर्ड अफ ट्रस्टी मेम्बर समेत हुन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पौडेलको नियुक्तिसँगै आयोगले सुयोग्य उपाध्यक्ष पाएको बताए। उनले भने, “डा. पौडेलको नियुक्तिले सरकारलाई लगानीकर्ता आकर्षित गर्ने नीति बनाउन, बहुराष्ट्रिय समन्वय गर्न धेरै सहयोग पुग्नेछ।”