एमाले एकतामा जोड दिने नेपाल पक्षको निष्कर्ष
नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेको छ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा दुई दिन चलेको स्थायी कमिटी बैठकमा सबै नेताले एकतामा जोड दिनुपर्ने मत राखेका छन्। बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता रघुजी पन्तले एकताका लागि प्रयास गर्नुपर्नेमा सबै सहमत रहेकाे बताए।
नेता पन्तले भने, “अहिलेसम्मका प्रयास सकारात्मक छन्। जति प्रयास भइरहेका छन्, अब तिनलाई टुंगोमा पुर्याउनुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको छ।”
स्थायी कमिटीको बैठकमा एकताकै विषयमा छलफल भएको उनको भनाइ थियो। “एकतामा जोड दिएर जानुपर्छ भन्नेमा सबैको सहमति रह्यो,” नेता पन्तले भने, “मूल कुरा पार्टीको एकता हो।”
अहिले एमालेका देशभरका कार्यकर्ता र मतदाताले एकता चाहेको र त्यसै अनुसार अघि बढ्नुपर्नेमा स्थायी कमिटी सदस्यले जोड दिएको उनले बताए। त्यसका लागि प्रयास जारी राख्ने निष्कर्ष निकालिएको उनको भनाइ छ।
बैठकमा प्रतिनिधि सभा पुनःस्थापनापछिका राजनीतिक अवस्थाका विषयमा पनि छलफल भएको जनाइएको छ। प्रतिनिधि सभालाई प्रभावकारी बनाउनुपर्नेमा बैठकले जोड दिएको छ।