निर्वाचन आयोगले फुटाउँदैमा पार्टी फुट्दैन : महतो
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउन खोजेको आरोप लगाएका छन्।
सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता महतोले दल विभाजन गर्न खोजेको बताएका हुन्। उनले भने, “हामीले पार्टी फुटाउन मागै गरेका थिएनौं। निर्वाचन आयोगले त पार्टी फुटाउने काम न गरेको हो।”
निर्वाचन आयोगले कानूनी रूपमा पार्टी फुटाउँदैमा पार्टी नफुट्ने उनको भनाइ थियो। “निर्वाचन आयोगले पार्टी फुटाउँदैमा पार्टी फुट्दैन। पार्टी जनताबाट निर्माण हुने हो,” महतोले भने, “हामी वैकल्पिक शक्ति निर्माणमा अगाडि बढ्छौं।”
उनले अध्यक्ष उपेन्द्र यादवले गर्दा दुर्भाग्यपूर्ण अवस्था आएको बताए। “एक वर्षअघि उपेन्द्रजीको पार्टी फुट्दै थियो। उपेन्द्रजीको पार्टी पतनको बाटोमा थियो, हामीले उद्धार गरेका हौं,” महतोले भने, “अहिले यो दुर्भाग्यपूर्ण अवस्था आयो।”
एक अर्को प्रश्नको जवाफमा नेता महतोले आफूहरूका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बराबर भएको बताए। “हाम्रा लागि दुवै प्रतिगमनकारी हुन्। दुवै बराबरी हुन्,” महतोले भने।
निर्वाचन आयोगको इजलासले अध्यक्षद्वय महन्थ ठाकुर र यादव पक्षलाई सनाखतका लागि बोलाएको थियो। दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्यले सनाखत गरेका छन्। अब आयोगले जसपाको आधिकारिकता सम्बन्धी फैसला सुनाउनेछ।