दुई-चार जनाको झुन्ड होइन, सबैभन्दा बढी जनता मेरो साथमा छन् : ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई देशको सबैभन्दा बढी जनताको साथ रहेको बताएका छन्।
आइतबार अखिल नेपाल महिला संघको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई देशका धेरै जनताको साथ रहेको बताएका हुन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ओलीका दुई-चार जना आफूलाई तर्साउन आएको तर आफू नतर्सिने बताएका थिए।
त्यसको जवाफ दिँदै अध्यक्ष ओलीले दुई-चार जना मात्रै नभएर देशका धेरै जनताको साथ रहेको प्रतिक्रिया दिएका हुन्। ओलीले भने, “केपी ओलीको साथमा रहेको दुई-चार जनाको झुन्ड होइन। देशको सबभन्दा बढी जनसंख्या नेकपा (एमाले)को साथमा छ, देशको सबभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ।”
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमाले गुन्डा दल नभएको र देशको मुहार फेर्ने दल बताएको बताए। “नेकपा (एमाले) कुनै गुन्डा दल होइन, नेकपा (एमाले) एउटा परिपक्व राजनीतिक दल हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ,” ओलीले भने।
उनले वरिष्ठ नेता नेपाललाई प्रतिक्रियावादीसँग साँठगाँठ गरेको आरोप लगाए। आफ्नो पार्टीको सरकार ढालेर प्रतिक्रियावादीलाई साथ दिएको उनको आरोप थियो। त्यसलाई उनले अपराधको संज्ञा दिए।
ओलीले भने, “लोकतन्त्र विरोधी अपराध हो। राष्ट्रियता विरोधी अपराध हो। देशका विरुद्धको अपराध हो। यो पार्टी विरुद्धको घात मात्रै होइन, वामपन्थी आन्दोलन र देशका विरुद्धको घात हो।”
वरिष्ठ नेता नेपालको साथमा रहेका नेता तथा कार्यकर्तालाई आफूसँग आउन पनि आग्रह गरे। “अहिलेसम्म भ्रममा रहेका र बाटो बिराएकालाई पनि फर्केर आउन अनुरोध गर्न चाहन्छु,” अध्यक्ष ओलीले भने, “पार्टीले क्षमा गर्छ, साथीहरू पार्टीमा फर्किनुस्।”