आममाफी दिने ओलीको भनाइ राजाको जस्तै : नेपाल
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको आममाफी दिने भनाइलाई कटाक्ष गर्दै ‘महामहिम श्री ५ महाराजाधिराजको अभिव्यक्ति’ भनेका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले अहिले एमाले संकटमा परेको बताए। अध्यक्ष ओलीकै कारण एमाले संकटमा परेको उनको भनाइ थियो।
अध्यक्ष ओली सुध्रिएलान् भनेर आफूले प्रयास गर्दै आएको तर जति गर्दा पनि नसुध्रिएको उनले बताए। “हिजो महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरूमाथि जति पनि सोधिएको स्पष्टीकरण छ, त्यसलाई आममाफी दिइन्छ,” नेपालले प्रश्न गरे, “हामी गदगद भयौं, आममाफी पाइने भयो भनेर। यही हो प्रवृत्ति, यसैलाई कम्युनिष्ट प्रवृति भनिन्छ?”
झन्डै दुई तिहाइको प्रधानमन्त्री ८३ जनामा खुम्चिँदा पनि नसुध्रिएको उनको भनाइ थियो। प्रतिनिधि सभामा विश्वासको मत लिँदा ओलीको पक्षमा ८३ मत मात्रै परेको थियो। नेपालले त्यसैलाई संकेत गर्दै भने, “स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले त्यो हतार गरेँ, मैले फिर्ता लिएको छु भन्दिएको भए के हुन्थ्यो? मर्यादा कम हुन्थ्यो? उस्तै छन्। जति गर्दा पनि सुध्रिएनन्।”
पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न चाहेको बताए। “हामी सिंगो कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन चाहन्छौं। एकता हुन नसकेपछि कार्यगत एकता गर्न चाहन्छौं,” नेपालले भने।
तर, अध्यक्ष ओलीले आफूलाई तर्साउन केही कार्यकर्ता पठाएर घर घेर्न लगाएको, घर नजिकको चक्रपथमा प्रदर्शन गर्न लगाएको जिकिर गरे। त्यसबाट आफू नतर्सिने बताउँदै नेपालले भने, “माधव नेपाल तर्सिने मान्छे हो? तर्सिनेवाला छैन। हामी विशेष धातुले बनेका मान्छे हौं।”