आज ओलम्पिकको उद्घाटन, गौरिका र एलेक्सले नेपाली झण्डा बोक्ने
विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रूपमा आज उद्घाटन हुँदै छ। जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष समारोहबीच अपराह्न ४ः४५ बजे उद्घाटन हुनेछ।
आज उद्घाटन हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरू भइसकेको छ। ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन्। नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ।
उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नेछन्। सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो। दर्शकको उपस्थिति विना प्रतियोगिता सञ्चालन हुनेछ।
नेपालबाट टोकियो ओलम्पिकमा सहभागी पाँच खेलाडीमध्ये सुटिङकी कल्पना परियारले शनिबार बिहान प्रतिस्पर्धा गर्नेछिन्। कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्।
उनी एक साताअघि नै जापान पुगेर अभ्यास थालेकी थिइन्। कल्पनाको खेल बिहान ५ः१५ बजे शुरू हुनेछ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन्। गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् भने अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी हुनेछन्।
पौडीकी गौरिकाले पहिलो पटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा उनले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी थिइन्।
ओलम्पिकमा गौरिकाले महिला १०० मिटर फ्री स्टाइल तथा एलेक्सले पुरुष १०० फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी सोनियाले महिला ४८ किलो तौल समूह तथा सरस्वतीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनेछन्। टोकियो ओलम्पिक २४ साउनमा सम्पन्न हुनेछ। (रासस)