बीपी प्रतिष्ठानको आन्दोलनलाई सम्बोधन गर्न कांग्रेसको अपील
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न नेपाली कांग्रेसले कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गरेको छ।
बीपी प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थी केही दिनदेखि आन्दोलनमा छन्। उनीहरूको माग सम्बोधन गर्न कांग्रेसले प्रधानमन्त्री ओलीसँग अपील गरेको हो।
शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेकाे प्रेस विज्ञप्तिमा गरी अहिलेसम्म प्रधानमन्त्री एवं कुलपति ओलीले ध्यान नदिनु चिन्ताको विषय भएको जनाइएको छ। “बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महीना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा नेपाली कांग्रेस सार्वजनिक रूपले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीले कुलपति हुनुको दायित्व पूरा नगरेको कांग्रेसको आरोप छ। “प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो। कोभिड महामारी चलिरहेको वेला स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद छ,” कांग्रेसले भनेको छ।
प्रतिष्ठानभित्र अनेकन् बेथिति र अराजकता रहेको औल्याउँदै कांग्रेसले ढाकछोप नगर्न सरकारलाई सचेत गराएको छ। कांग्रेसले भनेको छ, “प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरूको भावनामा चोट पुर्याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न। अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरूसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली कांग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गर्दछ।”