एमाले विवादको मुख्य जड २८ फागुनको निर्णय : भीम आचार्य
नेकपा (एमाले) का पूर्वमहासचिव माधव नेपाल पक्षका नेता भीम आचार्यले २८ फागुनमा केपी शर्मा ओली पक्षले लिएको निर्णय अहिलेको विवादको मुख्य जड भएको बताएका छन्।
“नेकपा (एमाले)भित्र घात–प्रतिघात, गुट–उपगुट, विश्वास–अविश्वास, कारबाही–प्रतिकारबाही, समर्थन–विरोध जस्ता क्रियाकलापहरू भइरहेका छन्,” प्रदेश–१ का सांसद समेत रहेका आचार्यले लेखेका छन्, “गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरू यसको मुख्य स्राेत हो।”
नेकपा विभाजन र एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति बिथोलिएको आचार्यको निष्कर्ष छ। उनले भनेका छन्, “२०६२-६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरू संकटमा परेका छन्।”
एमाले विवाद समाधानका लागि आचार्यको सुझावः
– पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रक्रियाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरू तुरुन्तै विनाशर्त पुन: सञ्चालन गरिनुपर्छ। सार्वभौम सदस्यहरूबाट निर्वाचित कमिटी पुन: सञ्चालन गर्न यो वा त्यो शर्त राख्नु गलत र अनधिकृत हो।
– गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरू खारेज गरिनुपर्छ र गरिएका सबै कामहरू घोषणा गर्नुपर्दछ।
– पार्टीभित्रका गुटहरूको टकरावका कारण यसबीच भएका द्वन्द्व र कामहरूको उपयुक्त समयमा समीक्षा गर्दै भएका कमीकमजोरीहरू सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ।
– आगामी दिनहरूमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरूको एकताबद्ध भएर सामना गर्नुपर्दछ।
– पार्टीलाई विधि–विधान र स्थापित मान्यताहरूका आधारमा सञ्चालन गर्नुपर्दछ।
– नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हीनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकताबद्ध बनाउने र सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरूसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर क्रान्तिका उपलब्धिहरू रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्दछ।