एमाले अध्यक्ष ओलीको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
कर्णालीका चार जना सांसदलाई हटाउने निर्णय रोक्ने अन्तरिम आदेशविरुद्ध प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको निवेदन (भ्याकेट)माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन कर्णाली प्रदेश सभाका सदस्यहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले फ्लोर क्रस गरेका थिए। पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै एमाले महाधिवेशन आयोजक कमिटीले कारबाही गरेको थियो।
केन्द्रीय कमिटीले कारबाही गर्नुपर्नेमा महाधिवेशन आयोजक कमिटीले कारबाही गरेकाले कानूनसम्मत नभएको भन्दै सर्वोच्चले अन्तरिम आदेश मार्फत चारै जना सांसदको पद थमौती गरेको थियो। त्यसका विरुद्ध सोमबार एमाले महाधिवेशन आयोजक कमिटीका अध्यक्ष ओलीले सर्वोच्चमा निवेदन दिएका थिए।
उनको निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो। सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा पेशी तोकिएको छ।