तामाकोशीमा मिसिने नदीको पहिरो हटाउन चिनियाँ टोली परिचालन
तामाकोशीमा मिसिने नदीमा खसेको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ।
तामाकोशीको उत्तरी क्षेत्र चीनको तिङ्ग्री काउन्टी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ। तिङ्ग्रीकै रोङजिया शहर नजिकको नदी रोङ्सीमा शुक्रबार पहिरो खसेको थियो। पहिरोले नदीको बहाव रोकिएको चिनियाँ प्रशासनले जिल्ला प्रशासन कार्यालय, दोलखालाई जानकारी दिएको थियो।
आज भने बिहानैदेखि नदीमा खसेको पहिरो पन्छाउन टोली परिचालन भएको चिनियाँ पक्षले जानकारी दिएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए। “पहिरो हटाउन टोली परिचालन भएको चिनियाँ पक्षले खबर गरेका छन्,” घिमिरेले भने।
पहिरो थुनिएर रोङ्सीमा ताल बनेको छ। थुनिएको भागबाट ‘ओभरफ्लो’ भएर बग्न थालेको जानकारी आएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। “ओभरफ्लो भएर बग्न थाले पनि जोखिम कम भएको छैन। चिनियाँ टोलीले पहिरो हटाउने प्रयास गरिरहेको जानकारी आएको छ,” उनले भने।
नेपालबाट सो क्षेत्रमा पुग्न कठिन छ। त्यसैले, चिनियाँ टोली मात्रै त्यस क्षेत्रमा पुगेको जनाइएको छ। पानी परिरहेकाले पहिरो पन्छाउने काम सकिन्छ वा सकिँदैन भन्ने यकिन नभएको उनको भनाइ छ।
पहिरोले नदीको बहाव थुनिएको खबर आएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशयबाट पनि पानी छाड्न थालिएको छ। बाढी आए पनि आयोजनाको जलाशयले थेग्ने सक्ने गरी अहिले पानी छाड्न थालिएको आयोजनाले जनाएको छ।
अझै पनि जोखिम यथावत् रहेकाले तामाकोशीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।