मेरो सरकार कोपभाजनमा पर्याे : पृथ्वीसुब्बा गुरुङ
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो नेतृत्वको सरकार कोपभाजनमा परेको बताएका छन्।
शुक्रबार प्रदेश सभामा बोल्दै केन्द्रमा भएको विवादले गण्डकी सरकार ढलेको बताए। आफूले संघीयताका लागि राम्रो काम गर्दागर्दै सरकार छोड्नुपरेको उनको भनाइ थियो।
“संघीयताका लागि राम्रो काम गरेको गण्डकी सरकार विघटनको कोपभाजनमा पर्याे, परेन त? गयो त गण्डकी सरकार,” गुरुङले भने।
यसले अन्य प्रदेशमा पनि राम्रो सन्देश नजाने उनको भनाइ थियो। आफूले संघीयता कार्यान्वयनका लागि केन्द्रसँग लड्दै आएको बताउँदै गुरुङले भने, “जुन मान्छे लड्याथ्यो, त्यही मान्छे फालिदियो।”
पार्टीको आन्तरिक झगडाले गर्दा यो अवस्था आएको उनको भनाइ थियो। “माथि प्रतिनिधि सभा भंग भयो,” निवर्तमान मुख्यमन्त्री गुरुङले भने, “तल दही जमे जसरी काम गरेका थिए। प्रदेश सरकारहरू थिए। त्यहाँ पार्टीको आन्तरिक झगडाले, नेताहरूको ‘इगो क्राइसिस’ले गर्दा हामी यो ठाउँमा पुगेका छौं।”
तीन वर्षअघि नेकपा (माओवादी केन्द्र)को समर्थनमा गुरुङ मुख्यमन्त्री बनेका थिए। नेकपा एकीकरण बदर भएसँगै माओवादीले समर्थन फिर्ता लिएपछि उनको सरकार ढलेको हो।
सरकार फेरबदलको खेलले लोकतन्त्र र संघीयता बलियो नहुने उनको भनाइ थियो। त्यसैले आफूले सर्वदलीय सरकारको प्रस्ताव गरेको भए पनि अन्य दलले नमानेको उनको गुनासो थियो।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले संघीयता बलियो बनाउँदै लग्नुपर्ने बताए। एमालेले अहिले नै गण्डकी प्रदेशलाई समर्थन गर्ने समय नभएको उनको भनाइ थियो। राम्रो काम गरेपछि समर्थन गर्न सकिने उनले बताए।