बाढीपहिरोबाट देशभर ११ को मृत्यु, २५ जना बेपत्ता
केही दिनदेखि देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र हावाहुरीका कारण ११ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयका अनुसार, ३१ जेठदेखि शुक्रबार बिहानसम्म ११ जनाको मृत्यु भएको हो। जसमध्ये सात जनाको सनाखत भएको र चार जनाको सनाखत हुन बाँकी रहेको छ।
बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक–एक जनाको ज्यान गएको छ।
यस्तै, विभिन्न जिल्लामा बाढीपहिरोमा परेर २५ जना बेपत्ता भएका छन्। सबैभन्दा बढी सिन्धुपाल्चोकमा १५ जना बेपत्ता रहेका छन्।
वर्षा र हावाहुरीका कारण जाजरकोटको चार हजार ८०० मिटरको उचाइमा रहेको जलजला पाटनमा सात जना हराइरहेका छन्। यस्तै, बाजुरा, प्युठान, अर्घाखाँचीमा एक–एक जना बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ।
अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेलाई सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ।
अहिले राहत, खोज तथा उद्धार कार्य जारी रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए। बिहीबार हेलिकोप्टर मार्फत मनाङमा समेत राहत पुर्याइएको छ।
बाढीपहिरोबाट घर पनि क्षति भएका छन्। गृह मन्त्रालयको तथ्यांक अनुसार, विभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्षति पुगेको छ।