आज २६ सयमा कोरोना, ३९ जनाको मृत्यु
कोभिड–१९ संक्रमित थपिने क्रम घट्दै गएको छ। आज देशभर दुई हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर १२ हजार ४८४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये सात हजार ७११ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ७६८ र चार हजार ७४३ जनाको एन्टिजेन परीक्षण गर्दा ८३९ जनामा संक्रमण देखिएको हो।
त्यस्तै, आज कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ। बुधबार ५२ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ५९७ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार १४१ जना निको भएका छन्। निको हुनेको संख्या भने घटेको छ। बुधबार तीन हजार ८२ जना निको भएका थिए।