पाँच दलका नेताले भने- सरकार पूर्वतयारी नगरी गैरजिम्मेवार देखिएको छ
प्राकृतिक प्रकोपको सामना गर्न सरकारले पूर्वतयारी नगरेर गैरजिम्मेवार देखिएको विपक्षी गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताले आरोप लगाएका छन्।
बिहीबार नेपाली कांग्रेस सभापति शेरबहादुुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकार गैरजिम्मेवार भएको आरोप लगाएका हुन्।
मनसुनको शुरूआतसँगै आएको बाढी र पहिरोले प्रकोपको रूप लिएको उनीहरूले स्मरण गराएका छन्। “मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लामा बाढी र पहिरोको प्रकोप देखिएको छ। यसको कारण कतिपय मानिसको ज्यान गएको छ भने अर्बौं रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली र पशुचौपाया नष्ट भएका छन्। फलस्वरूप कोरोना महामारीबाट आक्रान्त जनजीवन झनै कष्टकर बनेको छ,” पाँच नेताले भनेका छन्, “सरकार उक्त प्रकारको प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी गैरजिम्मेवार रहेको देखिएको छ।”
उनीहरूले बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
विज्ञप्तिमा भनेका छन्, “बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रूपमा अगाडि बढाउन हामी नेपाल सरकारसँग माग गर्दछौं।”
उनीहरूले यसका लागि राज्यका सबै निकाय र स्रोत परिचालन गर्न पनि आग्रह गरेका छन्। “इमानदारी, तदारुकता र पारदर्शी रूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
पाँच नेताले आफ्ना नेता तथा कार्यकर्तालाई पनि बाढी र पहिरो पीडितको सहयोगमा जुट्न आह्वान गरेका छन्। उनीहरूले भनेका छन्, “यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरूलाई हामी हार्दिक आह्वान गर्दछौं।”