विश्व ब्यांकले नेपाललाई रू.१७ अर्ब सहुलियतपूर्ण ऋण दिने
बहुपक्षीय ऋणदाता विश्व ब्यांकले कोरोनाभाइरसको महामारीसँग जुध्दै अर्थतन्त्रको पुनरुत्थान गर्न नेपाललाई १५ करोड डलर (करीब रू.१७ अर्ब ५५ करोड) ऋण दिने भएको छ।
विश्व ब्यांकको कार्यकारी निर्देशकको बैठकले बुधबार यस्तो टुंगो लगाएको ब्यांकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विश्व ब्यांकका नेपालस्थित देशीय निर्देशक फ्यारिस हदाद-जर्भोसले महामारीबीच नेपाली जनताको स्वास्थ्य सुरक्षा तथा दीगो र समावेशी विकासका लागि सहयोग गर्नु ब्यांकको प्राथमिकता भएको उल्लेख गरेका छन्।
यो सहुलियत ऋण सहयोग नेपालका संस्थाहरूको क्षमता सुधार, कर र भन्सार प्रणालीमा सुधार, ऋण व्यवस्थापन तथा सरकारी खर्च प्रणालीमा सुधारमा खर्च गरिनेछ।
त्यसैगरी, आपतकालीन् स्वास्थ्य क्षेत्र लगायतका क्षेत्रमा पनि सहायता रकम खर्च गरिने जनाइएको छ। विश्व ब्यांक नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो।