बाढीपहिरोबाट १३ जिल्ला प्रभावित, ६ को मृत्यु, २७ जना बेपत्ता
केही दिनदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले १३ जिल्ला प्रभावित भएका छन्। ती जिल्लामा ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता रहेका छन्।
गृह मन्त्रालयका अनुसार, बाढी र पहिरोले देशभर ६ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकमा दुई, कास्की, पाल्पा, बाजुरा र डोटीमा एक–एक जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनाएका छन्।
उनका अनुसार, बाढी र पहिरोमा २७ जना बेपत्ता भएका छन्। सिन्धुपाल्चोकमा १७, जाजरकोटमा सात, बाजुरा, गोरखा, प्युठान र अर्घाखाँचीमा एक–एक जना बेपत्ता भएका छन्।
त्यस्तै, बाढी र पहिरोमा परी ११ जना घाइते भएका छन्। सिन्धुपाल्चोकमा ६, डोटीमा दुई, जुम्लामा दुई र स्याङ्जामा एक जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोकका घाइतेलाई हेलिकोप्टर मार्फत उद्धार गरेर ललितपुरको बी एन्ड बी अस्पताल भर्ना गरिएको छ।
यसैगरी, बाढी र पहिरोमा परी ८९ घर पूर्ण रूपमा क्षति भएका छन्। त्यस्तै, २६ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ।
बाढी र पहिरो प्रभावितलाई राहत सामग्री पठाउने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ। त्यस्तै, बेपत्ता भएका व्यक्तिको खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।
गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
जल तथा मौसम विज्ञान विभागले अझै केही दिन देशभर वर्षा हुने जनाएको छ। जसले गर्दा बाढी र पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।