बाढीले मेलम्ची खानेपानीको ‘क्याम्प साइट’ बगायो, आठ कामदार सम्पर्कविहीन
मेलम्ची नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स नजिकैको क्याम्प साइट बगाउँदा ६ विदेशीसहित आठ जना कामदार सम्पर्कविहीन भएका छन्।
गएराति मेलम्ची नदीमा बाढी आएको थियो। बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याप्प साइट बगाएको प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।
उनका अनुसार, बाढीले आठ जना कामदार सम्पर्कविहीन भएका छन्। जसमा तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपाली कामदार रहेका छन्। “हिजो रातिदेखि सम्पर्कविहीन भएका आठ जना कामदारको खोजी भइरहेको छ,” प्रवक्ता पन्तले भने। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खोजीमा लागेका छन्।
त्यही क्याप साइटमा रहेका ७६ जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। उनीहरूलाई काठमाडौं र धुलिखेल ल्याइएको छ। उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको प्रवक्ता पन्तले बताए।
बाढीले आयोजनाका क्याम्प, उपकरण, निर्माण सामग्री, पहुँच सडक र पुल बगाएको छ। मुख्य बाँधमा भने ठूलो असर नपरेको प्रवक्ता पन्तले बताए।
“आयोजनाको मुख्य बाँध यथास्थितिमा रहेको देखिएको छ भने आयोजनाको मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा गम्भीर क्षति नभएको विवरण प्राप्त भएको छ,” आयोजनाले जारी गरेको प्रेस विज्ञप्तिमा पनि भनिएको छ, “यद्यपि क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन।”
१ असार राति मेलम्ची नदीमा बाढी आएको छ। मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सभन्दा माथि परिरहेको अविरल वर्षाका कारण आएको बाढीले आयोजनामा पनि क्षति पुगेको जनाएको छ।