उपचारका लागि दिल्ली जानुअघि खनालले भने- पार्टी जोगाउन सके मात्रै हामी सफल हुन्छौं
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन आह्वान गरेका छन्। उनले रिस, राग, बदलाभाव र अहंकार त्यागेर पार्टी एकता गर्न आह्वान गरेका हुन्।
उपचारका लागि बुधबार दिल्ली जानुअघि खनालले विज्ञप्ति मार्फत टुटफुट र विभाजन होइन, पार्टी एकता गर्न आह्वान गरेका हुन्। खनालले भनेका छन्, “पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउन प्रयत्न गर्यौं भने मात्र हामी सफल हुन सक्छौं र मुलुकको नेतृत्व गर्न सक्छौं।”
पार्टीभित्र मात्रै होइन, सबै राजनीतिक दलहरूबीचको विभाजन र ध्रुवीकरणले आफूलाई चिन्तित बनाएको उनले उल्लेख गरेका छन्। देशका प्रमुख दलहरू र तीनका नेताबीचको अनावश्यक टकराव, महत्त्वाकांक्षा र इगो साँध्ने कार्य तत्काल अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।
लगातार ज्वरो आएर सास फेर्न गाह्रो भएपछि दुई दिनदेखि नर्भिक अस्पतालमा उपचाररत खनाललाई बुधबार मध्याह्न दिल्लीस्थित अपोलो अस्पताल लगिएको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, ७१ वर्षीय खनालको फोक्सोमा पानी जमेको देखिएको थियो।