गण्डकीका मुख्यमन्त्री पोखरेलले ४ असारमा विश्वासको मत लिने, यस्तो छ अंकगणित
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ४ असारमा विश्वासको मत लिने तयारी गरेका छन्।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सभामा प्रस्ताव दर्ता गराएका छन्। मंगलबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्रजंग केसीले बताए।
प्रदेश सभामा प्रस्ताव दर्ता भएको ४८ घण्टापछि प्रदेश सभा बैठकमा पेश हुने व्यवस्था छ। मुख्यमन्त्री पोखरेलले ४ असारमा विश्वासको मत लिने तयारी गरेको उनको सचिवालयले जनाएको छ। उनी २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए।
उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। यस धारा अनुसार नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
यदि उनले विश्वासको मत लिन नसकेमा प्रदेश सभा विघटनतिर जानेछ। यस धारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिन नसकेमा प्रदेश सभा विघटन गरी ६ महीनाभित्र चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
अहिले गण्डकी प्रदेश सभा ५९ सदस्यीय छ। यसमा नेकपा (एमाले)का २७ सांसद छन्। त्यस्तै, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका दुई, जनता समाजवादी पार्टी (जसपा)का दुई र एक जना स्वतन्त्र सांसद छन्। जनमोर्चाका कृष्ण थापा ह्वीप नमान्दा पदमुक्त भएका छन्।
विश्वासको मतका लागि ३० सांसद आवश्यक पर्छन्। अहिले मुख्यमन्त्री पोखरेलको पक्षमा कांग्रेस, माओवादी, जनमोर्चा, जसपा र स्वतन्त्र गरी ३१ सांसद देखिएका छन्।