निर्वाचन आयोगविरुद्ध अदालत नजान उपेन्द्र यादव पक्षलाई कानून व्यवसायीको सुझाव
कानून व्यवसायीहरूले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षलाई तत्काल अदालत नजान सुझाव दिएका छन्।
जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई गरेको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्षले कानूनी प्रक्रियाको विषयमा मंगलबार कानून व्यवसायीहरूसँग परामर्श गरेको हो। उनीहरूले एक पटक पुनः निर्वाचन आयोगमै आधिकारिकता दाबी गर्न सुझाव दिएका हुन्।
“अदालती प्रक्रिया लामो हुने भएकाले एक पटक आधिकारिकताका लागि निर्वाचन आयोगमै जान सुझाव दियौं,” जसपा सम्बद्ध संघीय कानून व्यवसायी संघका अध्यक्ष दीपक राईले हिमालखबरसँग भने, “हामीले अहिलेलाई अदालत नजान सुझाव दिएका छौं, निर्णय त पार्टीले गर्छ।”
बालकुमारीस्थित जसपा मुख्यालयमा आयोजित छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी तथा वरिष्ठ अधिवक्ता मिथलेशकुमार सिंह, अधिवक्ता कृष्ण शर्मा, नारायण खरेल, वीरेन्द्र ठाकुर लगायत सहभागी थिए।
महन्थ ठाकुर पक्षले उपेन्द्र यादव र यादव पक्षले महन्थ ठाकुर पक्षका चार नेतालाई गरेको कारबाहीलाई निर्वाचन आयोगले ३० जेठमा मान्यता नदिने निर्णय गरेको थियो। यादव समूहले आफूहरू बहुमतमा रहेकाले अल्पमतमा रहेका ठाकुरको पक्ष लिएर निर्वाचन आयोगले दुवैको पत्र खारेज गर्ने निर्णय गरेको आरोप लगाउँदै आएको छ।