लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको निर्देशन
लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जनता समाजवादी पार्टी (जसपा) संसदीय दलले निर्देशन (ह्विप) दिएको छ।
आइतबार लुम्बिनी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रममाथि मतदान हुँदै छ। विपक्षी दलले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएका छन्।
केही सांसद मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा देखिएपछि जसपाले ह्विप जारी गरेको हो। प्रदेश सभामा जसपा प्रमुख सचेतक पूरमति ढेंगा मगरले ह्विप जारी गरेकी छिन्।
उनले ६ जना सांसदलाई पत्र पठाएर प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छिन्। संसदीय दलका नेता सहशराम यादवको निर्देशन अनुसार ह्विप जारी गरेको प्रमुख सचेकत मगरले जनाएकी छिन्।
प्रदेश प्रमुख धर्मनाथ यादवले २५ जेठमा प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए। त्यसलाई आज पारित गर्ने प्रदेश सभाको कार्यसूची रहेको छ।
लुम्बिनी प्रदेश सभामा जसपाका ६ जना सांसद छन्। संसदीय दलका नेता यादव र प्रमुख सचेतक मगर सरकारको विपक्षमा उभिएका छन् भने सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी सरकारको पक्षमा छन्।
चारै जना सरकारमा सहभागी भएपछि जसपाले कारबाही गरेको थियो। सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत उनीहरूको पद थमौती गरेको छ।