यातायात क्षेत्रको पुनर्स्थापनाका लागि राहत प्याकेज माग
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात क्षेत्रको पुनर्स्थापनाका लागि राहत प्याकेज घोषणा गर्न माग गरेको छ।
संगठनको केन्द्रीय कमिटी बैठकले शनिबार सरकारसँग राहत प्याकेज वा कर्जा सहुलियतको माग गरेको हो।
लामो निषेधाज्ञाले शतप्रतिशत निजी लगानी रहेको यातायात क्षेत्र र यसमा आवद्ध श्रमिक प्रभावित भएको र सरकारले वास्ता नगरेको संगठनले जनाएको छ।
यातायात क्षेत्रमा ११ लाख श्रमिक छन्। लामो समयदेखिको निषेधाज्ञाका कारण रोजगारी गुमाएका यातायात श्रमिकलाई दैनिक गुजारा चलाउनसमेत समस्या रहेको संगठनले जनाएको छ। यस्ता श्रमिकलाई तत्काल खाद्यान्न सहयोग गर्न उनीहरूको माग छ।
बैठकले श्रमिकलाई खोपको व्यवस्था गर्दै, स्वास्थ्य मापदण्ड तोकेर काम गर्ने वातावरण बनाउन पनि माग गरेको छ।