बागमती प्रदेश सभा सदस्य वैद्यको विवादास्पद अभिव्यक्तिको विरोध, आत्मालोचना गर्न कांग्रेसको निर्देशन
बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको विवादास्पद अभिव्यक्तिको विरोध भइरहेको छ भने नेपाली कांग्रेसले आत्मालोचना गर्न निर्देशन दिएको छ।
शुक्रबार बागमती प्रदेश सभा बैठकमा बोल्दै सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै कसैले ‘नाथुराम गोड्से बन्नुपर्ने’ अभिव्यक्ति दिएका थिए। यसको सबै राजनीतिक दलका नेताहरू विरोध गरिरहेका छन्।
सांसद वैद्यको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।
उनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ। प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ।”
कसैको पनि आलोचना गर्न पाइने भए पनि त्यो संयमित हुनुपर्ने शर्माले जनाएका छन्। “नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन। आलोचना लोकतान्त्रिक हक हो, तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन,” शर्माले भनेका छन्, “शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ। हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन।”
त्यस्तै, बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि सांसद वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिएको जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु।”
यसको अन्य दलहरूले विरोध जनाएका छन्। प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सांसद वैद्यलाई कारबाही हुनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “औपचारिक सभामा रेकर्ड सहित बोलेको विषयलाई कानूनी दायरामा ल्याई कारबाही गरियोस।”
(यही समाचारमा यसअघि बागमती प्रदेश हुनुपर्नेमा अन्यथा भएकोले भूलसुधारसहित सच्याइएको छ।)