भदौमा महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध छु : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन्।
बुधबार प्रेस विज्ञप्ति जारी गरी देउवाले महाधिवेशनका विषयमा भ्रम सिर्जना नगर्न आग्रह गरेका छन्। देउवाले भनेका छन्, “म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ साल भदौ महीनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिबद्ध छु।”
कोभिड-१९ का बहानामा सभापति देउवाले महाधिवेशन सार्न खोजेको कांग्रेसकै नेताहरूले आरोप लगाएपछि देउवाले स्पष्टीकरण दिएका हुन्। उनले पार्टी महाविधेशनको विषयलाई विवादित नबनाउन आग्रह गरेका छन्। “पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक-पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइन। महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन,” देउवाले भनेका छन्।
उनले महाधिवेशनको महत्वको विषयमा आफू जानकार रहेको पनि प्रष्ट्याएका छन्। देउवाले भनेका छन्, “पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु।”
उनले महाधिवेशनको तयारीमा जुट्न कांग्रेस नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। “पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ। यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन्। पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिनेछन्,” देउवाले भनेका छन्।
उनले कोभिड-१९ को महामारीलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गरेका छन्।