स्वास्थ्यकर्मीलाई गालीगलौज गरे एक वर्ष कैद
स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई गालीगलौज, अपमानजनक वा अभद्र व्यवहार गर्ने, धम्की दिने र कर्मचारीलाई हातपात गर्नेलाई एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार जारी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न ल्याइएको अध्यादेशमा विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको हो। यसअघि यस्तो कार्यमा संलग्नलाई रु. ५ देखि रु. २० हजार रुपैयाँसम्म सजायको व्यवस्था थियो।
त्यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरेमा, स्वास्थ्य संस्थामा उपचारका लागि आएका विरामीको उपचारमा बाधा पुर्याउनेलाई पनि एक वर्षसम्म कैद वा रु १ लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ।
अध्यादेशमा स्वास्थ्य संस्था तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरेमा वा शारीरिक रुपमा चोट पुर्याउनेलाई गर्ने सजाय पनि बढाएको छ।
मुल ऐनको दफा १५ संशोधन गरेर यस्तो कार्य गर्नेका लागि तीन वर्षसम्म कैद वा रु.३ लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने अध्यादेशमा व्यवस्था गरिएको छ।
कोभिड–१९ का विरामीको उपचारमा संलग्न भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात भए लगत्तै ल्याइएको अध्यादेशमा स्वास्थ्य संस्थामा आगजानी गर्नेलाई पनि कडा सजायको व्यवस्था गरिएको छ। स्वास्थ्य संस्थामा आगजानी गर्नेलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद र रु.२ लाखदेखि रु.५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा व्यवस्था गरिएको हो।
ऐनमा स्वास्थ्य संस्थामा आगजानी गर्नेलाई रु. ३ लाखसम्म जरिवाना र एक महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था थियो।