यी हुन् ‘बाहिरी र भित्री मन’ को उपचार गर्ने नेपाली चिकित्सक, जसबारे लस एन्जलस टाइम्समा यस्तो छापियो
हामीले मानसिक रोगको न्यूरोबायोलोजिकल पद्धतिलाई होशियारीसाथ अनुसरण गर्दै चिकित्सक ऋषभ कोइरालाले झैं संस्कृतिसापेक्ष स्थानीय पद्धति अवलम्बन गर्नुपर्छ। भनाइको अर्थ, उपचारका लागि पीडितका भोगाइहरूलाई पनि सम्बोधन गरिदिनुपर्छ।
नेपालका एक चिकित्सक ऋषभ कोइराला आफैं पनि स्विकार्छन् कि उनी अनौठा नेपाली हुन्। जिम मोरिसन र डोर्सका प्रशंसक उनी यूरोपेली दर्शन मन पराउँछन्। चिकित्सा विद्यालयहरूले कम वा कुनै पनि मानसिक स्वास्थ्य प्रशिक्षण नदिने मुलुकमा उनी मनोचिकित्सकका रूपमा कार्यरत छन्। उनी किन पनि अनौठा हुन् भने सारा विश्वले मानसिक रोगलाई दिमागी समस्याका रूपमा औंल्याइरहेका बेला उनी यतिले मात्रै मानसिक रोगको पर्याप्त व्याख्या नहुने धारणा राख्छन्।
मानसिक रोग विश्वमै अशक्तताको मुख्य कारक हो। नेपालमा यसलाई लज्जाको विषय मानिन्छ र निकै कम व्यक्ति उपचारको पहुँचमा छन्।
सन् २०१५ को भूकम्पपछि पोस्ट–ट्रम्याटिक स्ट्रेस डिस्अर्डर (पीटीएसडी) को निदान र उपचारका लागि विभिन्न देशका चिकित्सक नेपाल गएका थिए। त्यो बेला थोरैले मात्र मानसिक स्वास्थ्य परीक्षण गराए।
कतिपय स्थानीयहरूले त्यो बेला पीटीएसडी भएका व्यक्तिलाई मानसिक रोगी वा कुकर्म गरेका मान्छे बताउँदै तिनले कि अरूको वा स्वयंको हत्या गर्छन् भन्ने अन्धविश्वास पालेका थिए।
स्वास्थ्य परीक्षण वा उपचार गर्न समेत मान्छेहरू अनिच्छुक हुन्छन् भन्ने कुरा कतिपय पाठकलाई अनौठो लाग्नसक्छ। तर, संयुक्त राज्य अमेरिकामै कुनै न कुनै किसिमको मानसिक रोग भएका लगभग ६० प्रतिशत मानिसले मानसिक स्वास्थ्य उपचार वा परामर्श पाउँदैनन्।
अधिकांश विज्ञ के बताउँछन् भने अमेरिका र विश्वमै पनि मानसिक स्वास्थ्य उपचारका सवालमा सबैभन्दा ठूलो बाधक भनेकै यससँग जोडिएको स्टिग्मा (लाञ्छना) हो। र, उनीहरूका अनुसार यस्तो धारणा कम गर्न तब मात्रै सकिन्छ जब मानिसहरूले मानसिक रोग भनेको स्नायु सम्बन्धी रोग हो भन्ने बुझ्छन्। तर, यही कुरा कोइराला मान्न तयार छैनन्।
मनोचिकित्सक न्यान्सी एन्ड्रियसेनले आफ्नो चर्चित किताब ‘द ब्रोकन ब्रेक’ मा भने अनुसार मानसिक समस्या भएका व्यक्तिमाथि हुने विभेद अज्ञानताले उत्पन्न हुन्छ। उनी लेख्छिन्, “मानसिक रोग भनेको शारीरिक बिमारी हो। यो नैतिक पतनले होइन, जैविक कारणले हुन्छ भन्ने नबुझ्नु नै मूल समस्या हो।”
साथै, नेशनल इन्स्टिच्यूट अफ मेन्टल हेल्थका पूर्वनिर्देशक डा. थोमस इन्सेल लेख्छन्, “यसलाई हामीले मस्तिष्कको विकारका रूपमा बुझ्नुपर्छ।”
आज मानसिक स्वास्थ्य सम्बन्धी अनुसन्धानमा मस्तिष्कलाई बढी जोड दिइनु स्वाभाविकै हो। खुट्टा भाँच्चियो भने मानिस तुरुन्तै चिकित्सकलाई भेट्न हिचकिचाउँदैन। तर, दिमागी समस्या शुरू भएदेखि मनोचिकित्सकीय उपचारमा जाने औसत समय अमेरिकामा ७४ हप्ता लामो छ। सम्भवतः ‘टुटेको मस्तिष्क मोडल’ ले रोगका कारण बिरामीले गर्ने व्यवहारको जिम्मेवारी बिरामी मान्छेबाट बिरामीको मस्तिष्कको समस्यामा सारिदिन्छ।
मानसिक रोगलाई दिमागी विकारका रूपमै व्याख्या गर्दा पनि त्यसले यससँग सम्बन्धित हिचकिचाहटलाई कम गर्छ भन्ने कुनै प्रमाण छैन। यदि चिकित्सकले कुनै व्यक्तिलाई मानसिक रोग भनेको रासायनिक असन्तुलन वा असामान्य दिमागी हालत हो भनेर बताए भने उनले ती व्यक्तिलाई त्रसित तुल्याउन मद्दत गरेका हुन्छन्।
एक जर्मन सर्वेक्षणमा मान्छेहरूले मानसिक रोगको जीवविज्ञान जति धेरै बुझ्छन् त्यति नै धेरै उनीहरू मनोचिकित्सकीय उपचार गराइरहेका मानिससँग सामाजिक दूरी बढाउँदै जान्छन् भन्ने देखिएको छ। साथै, संयुक्त राज्य अमेरिकाको एउटा अध्ययन अनुसार, सन् १९९६ देखि २००६ सम्म अमेरिकी जनताले मानसिक रोगलाई न्यूरोबायोलोजिकलका रूपमा हेरे पनि त्यसले यससँग जोडिएका स्टिग्मा (लाञ्छना) कम गर्न सकेन।
मानसिक रोगको न्यूरोबायोलोजिकल आधारलाई कोइराला अस्वीकार गर्दैनन्। तर, मानसिक रोगको हेरचाहमा आइपर्ने अवरोध तोड्न यस्तो बुझाइले मात्रै मद्दत गर्छ भन्ने कुरामा उनी विमति राख्छन्।
केही वर्ष पहिले, नेपालको ग्रामीण भेगमा कोइरालाले एउटा अस्थायी ‘मानसिक स्वास्थ्य शिविर’ सञ्चालनका लागि सहयोग गरेका थिए। मनमा द्विविधा भए पनि उनले आफ्ना सहकर्मीलाई ‘मानसिक’ रोगका लागि शिविर भन्ने वाक्यांश प्रयोग गर्न दिए। त्यसमा ‘मानसिक’ शब्दले दिमागले सही ढंगमा काम गर्न नसकेको स्थिति भन्ने आशय दिन्थ्यो। सायद त्यही कारण उक्त शिविरमा कोही पनि जँचाउन गएनन्।
दिमाग बिग्रिएको व्यक्तिलाई राम्रो नजरले हेर्ने चलन छैन। त्यस्तो व्यक्तिको विवाह नहुनसक्छ, जागीरबाट निकालिन सक्छ वा परिवारबाटै निष्कासित हुनुपर्ने हुनसक्छ। तसर्थ, मानिसहरू खुलेआम मानसिक स्वास्थ्य शिविरमा जानै चाहेनन्।
केही महीनापछि पुनः शिविर स्थापना गर्दा कोइरालाले त्यसको नाम परिवर्तन गरे। यस पटक उनले ‘मानसिक’ नभई ‘दीर्घकालीन टाउको दुखाइको जाँच गर्ने शिविर’ भनेर नामकरण गरे। त्यसपछि बिरामी ओइरिए। अधिकांशलाई डिप्रेसन र एन्जाइटी देखियो र त्यसको उपचार पनि भयो, उनीहरू बिस्तारै ठीक भए।
कोइराला अचेल आफ्ना बिरामीसँग दिमागभन्दा ‘बाहिरी मन’ बारे बढी कुरा गर्छन्, टाउको दुख्ने र थकान जस्ता शारीरिक लक्षणबारे सोध्छन्। उनी बिरामीलाई भित्री र बाहिरी गरी हरेक मानिसका दुइटा मन हुन्छन् भनेर कुरा शुरू गर्छन्।
“हामी सबै आफ्नो बाहिरी मनबारे जानकार छौं,” उनी भन्छन्, “यसमा हामीले महसूस गर्ने सबै शारीरिक र भावनात्मक लक्षणहरू हुन्छन् र यसलाई अरूले पनि देख्नसक्छन्। तर, भित्री मन मानसिक रोगको मुख्य स्रोत हो र यो नै हाम्रो चेतनाबाट अक्सर लुकेको हुन्छ।”
मानसिक स्वास्थ्य समस्या भएकाहरूको उपचारका लागि कोइराला नेपालको दुर्गम क्षेत्र पुगेका थिए र त्यहाँ उनले सिजोफ्रेनिया भएका एक मानिसलाई भेटे। परिवारले उनलाई खुट्टामा ठुङ्ग्रा (बीचमा दुलो पारेर बनाइएको काठको यन्त्र)ले बाँधेर राखेको कोइरालाले देखे। ती व्यक्ति बाहिर गएर नलडून्, चोटपटक नलागोस्, नहराऊन् भनेर उनको परिवारले त्यसो गरेको थियो।
डा. कोइरालाले तिनलाई नियमित एन्टिसाइकोटिक औषधि खुवाउन उनको परिवारलाई राजी गराए र केही महीनापछि पुनः भेट्न गए। उनी ‘बिल्कुल फरक व्यक्ति’ भइसकेका थिए र उनमा ‘असाधारण’ सुधार देखिएको कोइराला बताउँछन्।
मूल प्रश्न चाहिँ, त्यो उपचारका लागि उनको परिवार कसरी राजी भयो त भन्ने हो। यसको जवाफ कोइराला स्वयम् हुन्। उनले बुझेका थिए कि त्यहाँ विज्ञान होइन, स्थानीय संस्कृतिले महत्त्व राख्छ। तसर्थ, उनले मानसिक रोगलाई दिमागी होइन, भित्री मनको समस्याका रूपमा चित्रण गरिदिए।
स्नायुविज्ञानले कुनै दिन यस्तो उपचार प्रणाली निर्माण गर्ला जसले मानसिक रोगसँग जोडिएका स्टिग्मा (लाञ्छना) हटाइदिनेछ। तर, अहिले हामी त्यो अवस्थामा पुगिसकेका छैनौं। हाम्रो दिमाग अन्य अंगभन्दा निकै जटिल छ। र, मानसिक रोग जैविक कारणले मात्रै हुँदैन। हामीले सोचेभन्दा धेरै तत्त्वले तिनलाई आकार दिएको हुन्छ। तीमध्ये जैविक कारण निश्चय नै एक हो, तर हाम्रो बाल्यकाल, गरीबी, सामाजिक सहयोग र तनावले पनि भूमिका खेलेको हुन्छ। अनुभवले नै दिमागको संरचना हेरफेर गर्छ।
हामी आज र सायद कहिल्यै पनि मानसिक रोगहरूलाई माइक्रोस्कोपले हेर्न सक्दैनौं, न त प्रयोगशालामा यसको परीक्षण नै गर्न सकिन्छ। यसो भन्दैमा मनोचिकित्सा विज्ञान असफल भएको भन्ने होइन। किनभने, शरीरका कोषिकाहरूमा हाम्रो अनुभव लेखिएको हुँदैन।
तसर्थ, हामीले मानसिक रोगको न्यूरोबायोलोजिकल पद्धतिलाई होशियारीसाथ अनुसरण गर्दै कोइरालाले झैं संस्कृतिसापेक्ष स्थानीय पद्धति अवलम्बन गर्नुपर्छ। भनाइको अर्थ, उपचारका लागि पीडितका भोगाइहरूलाई पनि सम्बोधन गरिदिनुपर्छ।
हामीलाई थाहा छ कि अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिस्अर्डर (एडीएचडी) भएका बालबालिकाको दिमागको नशा संरचना र एडीएचडीबिनाका उनीहरूका साथीको दिमागको नशा संरचनाका बीच सूक्ष्म भिन्नता हुन्छ, तर त्यो जान्दाजान्दै पनि हामीले एडीएचडी भएका बालबालिकाका लागि विशेष शिक्षा पद्धति निर्माण गर्नसकेका छैनौं।
त्यस्तै, हामीलाई थाहा छ कि सिजोफ्रेनिया भएका व्यक्तिको दिमागको नशा संरचना (सर्किट) फरक तरिकाले विकास भएको हुन्छ, तर त्यो ज्ञानले यससँग जोडिएका स्टिग्मा (लाञ्छना) हटाउन वा भेदभावको इतिहास मेटाउन केही पनि सहयोग गर्दैन।
हामी आज र सायद कहिल्यै पनि मानसिक रोगहरूलाई माइक्रोस्कोपले हेर्न सक्दैनौं, न त प्रयोगशालामा यसको परीक्षण नै गर्न सकिन्छ। यसो भन्दैमा मनोचिकित्सा विज्ञान असफल भएको भन्ने होइन।किनभने, शरीरका कोषिकाहरूमा हाम्रो अनुभव लेखिएको हुँदैन।
मस्तिष्कको अध्ययन गर्ने क्रममा हामी जुन समाजमा बस्छौं र जुन किसिमका दुःख–कष्ट भोग्छौं, त्यसको पनि अध्ययन हुनुपर्छ। कम्तीमा संस्कृतिबारे बुझ्ने र परिवर्तन गर्ने शक्ति अहिले हामीसँग छ।
(रोय रिचर्ड ग्रिनकेर जर्ज वासिङ्टन युनिभर्सिटीको मानवशास्त्र एवं अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक हुन्। उनको ‘नोबडीज् नर्मलः हाउ कल्चर क्रिएटेड स्टिग्मा अफ मेन्टल इल्नेस’ पुस्तक प्रकाशित छ। लस एन्जलस टाइम्समा 'ह्वाई अ नेपाली डक्टर इज ट्रिटिङ द बायोलोजी- एन्ड द साेसिअलजी- बिहाइन्ड मेन्टल इल्नेस' शीर्षकमा प्रकाशित उनको यो लेख नेपालीमा भावानुवाद गरिएको हो।)
को हुन् डा. ऋषभ?
माथिको लेखका लागि भनेर प्रोफेसर ग्रिनकेरले ऋषभलाई खोजेका थिएनन्। खासमा उनी मानसिक स्वास्थ्यको क्षेत्रमा विश्वका विभिन्न ठाउँमा भइरहेका विविध अभ्यासहरूबारे किताब लेख्ने सुरले ऋषभसम्म आइपुगेका थिए, त्यो पनि तीन वर्षअघि। त्यही बेलाको कुराकानीको एक अंश गएको ४ अप्रिल २०२१ (२२ चैत २०७७) मा लस एन्जलस टाइम्स मा प्रकाशित भएको हो।
डा.ऋषभले तीन वर्षअघि जुन परिप्रेक्ष्यमा ग्रिनकेरसँग बोलेका थिए, त्यो माहोल अहिले केही फेरिएको छ। कोरोना महामारीका कारण उनी अहिले गाउँ–गाउँ पुगेर स्वास्थ्य शिविर वा तालिम आयोजना गर्न सक्दैनन्। तर, भर्चुअल माध्यममा हुने कार्यक्रममा उनी मानसिक स्वास्थ्यबारे बोलिरहेकै छन्।
“एमबीबीएस सिध्याउनासाथ नेपालका दुर्गम क्षेत्रका हेल्थ पोस्टहरूमा मैले काम गरेको थिएँ,” उनी भन्छन्, “काठमाडौंकै कर्णाली भनिने भट्टेडाँडामा आठ महीना बसेँ। त्यो बेला शनिबार र छुट्टीको दिन समेत म झोलामा स्टेथोस्कोप र प्रिस्क्रिप्सन लिस्ट बोकेर हिँड्थें। घरघर छिरेर बूढाबूढीको जाँच गर्थेँ, प्रिस्क्रिप्सन लेखिदिन्थेँ। पछि, उहाँहरूका छोराछोरीले औषधि किनेर लगिदिन्थे।”
त्यसरी डुल्ने क्रममा उनले कतिपय ठाउँमा बिरामीलाई आफन्तले ठुङ्ग्राले बाँधेर राखेको देखे। त्यसले उनको मन छुन्थ्यो। “नेपाली परिवारले बिरामी आफन्तलाई दिन सकेको बेस्ट केयर हो त्यो,” उनी भन्छन्, “कतिपयले यसलाई नराम्रो नजरले हेर्छन्, तर यत्तिको सेवा विदेशीहरूले आफन्तलाई दिँदैनन्, सरकारको जिम्मा लाइदिन्छन्। हाम्रोमा त्यस्तो मानसिक समस्या हुँदा समेत परिवारले माया गरेर, सम्हालेर राख्ने गरेका छन्।”
हाल ग्रान्डी इन्टरनेशनल हस्पिटल र नेपाल क्यान्सर हस्पिटलमा कार्यरत उनी नेपालमा एन्जाइटी र डिप्रेसन आम मानसिक रोगका रूपमा रहेको बताउँछन्। तर, धेरैले यसलाई ‘मेरो स्वाभाव नै यस्तै हो’ भनेर बेवास्ता गर्ने गरेको उनले पाएका छन्। “हाम्रा बिरामीले विदेशीले झैं सीधै आएर ‘डाक्टर मलाई डिप्रेसन छ, एन्जाइटी छ भन्दैनन्,” युनिभर्सिटी अफ ओस्लो, नर्वेबाट विद्यावारिधि गरिरहेका ऋषभ भन्छन्, “उनीहरूले टाउको धेरै दुख्छ, पेट पोलेकोपोल्यै गर्छ, ढाड दुखिरहन्छ, ग्यास्ट्रिकको समस्याले छाती पोल्छ, हातखुट्टा झमझमाउँछ भन्छन्। मानसिक रोगका यी आम लक्षण हुन्।”
मानसिक रोगबारे पश्चिमा दृष्टिकोणबाट मात्रै पढाइ हुन्छ। यसलाई धेरै पश्चिमीकरण गरिएको छ। तर, बिरामीसँगको संगत, मनोचिकित्सकका रूपमा काम गर्दाको अनुभवले मलाई यसरी ‘पश्चिमा दृष्टिकोण र अवधारणाले मात्रै व्याख्या गर्न मिल्दैन’ भन्ने सिकायो।
नेपालको ग्रामीण समाज र परिवेशमा घुलमिल भएपछि ऋषभले बिरामी र तिनका परिवारको सामाजिक–सांस्कृतिक मूल्य–मान्यताको ख्याल राख्दै उपचार र परामर्शको स्थानीय तरिका अवलम्बन गरेका थिए। उनको यही तरिकाबाट प्रभावित भएर अमेरिकी प्राध्यापकले लेखै छपाए। मनोविज्ञान र मनोचिकित्सा विषयमा बारम्बार पढाइ हुने चेतन र अवचेतन मनको अवधारणालाई उनले नेपाली शैलीमा ढालेर भित्री र बाहिरी मन बनाएका छन्।
“मानसिक रोगबारे पश्चिमा दृष्टिकोणबाट मात्रै पढाइ हुन्छ,” उनी भन्छन्, “यसलाई धेरै पश्चिमीकरण गरिएको छ। तर, बिरामीसँगको संगत, मनोचिकित्सकका रूपमा काम गर्दाको अनुभवले मलाई यसरी ‘पश्चिमा दृष्टिकोण र अवधारणाले मात्रै व्याख्या गर्न मिल्दैन’ भन्ने सिकायो। त्यही भएर भित्री र बाहिरी मन भनेर बिरामीलाई बुझाउने गरेको छु। यसले काम गर्छ।”
मानसिक रोगको क्षेत्रमा एक दशकदेखि काम गरिरहेका उनी यस विषयकै अनुसन्धानात्मक कार्यमा पनि संलग्न छन्। विभिन्न किसिमका आघातले मानिसको व्यवहारमा, बायोकेमिकल लेभल आदिमा परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्नेबारे उनको पछिल्लो अध्ययन जारी छ।