अक्सिजन वितरणमा सीसीएमसीले लगाएको कोटा प्रणाली खारेज
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अक्सिजन वितरणमा लगाएको कोटा प्रणाली खारेज भएको छ। अब सहज रूपमा अक्सिजन आपूर्ति हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सीसीएमसीले अस्पतालहरूका लागि कोटा निर्धारण गरेको थियो। एपीएफ, वीर, सिभिल, धुलिखेल, पाटन लगायत केही अस्पतालबाहेक अन्य अस्पताललाई दैनिक एक सयभन्दा कम सिलिन्डर तोकेको थियो। जसले गर्दा अन्य अस्पतालमा उपचाररत कोभिड-१९ का बिरामीलाई अक्सिजन आपूर्ति गर्न समस्या भएको थियो।
आजदेखि अक्सिजन वितरणको जिम्मा पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमै आएपछि कोटा प्रणाली खारेज गरिएको हो। कोटा प्रणाली निर्धारण हुनुअघिको अवस्थामा जस्तै अक्सिजन वितरण गर्ने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले प्रेस विज्ञप्ति जारी गरी साबिक बमोजिम नै अक्सिजन आपूर्ति गर्न अक्सिजन उद्योगहरूलाई परिपत्र गरेको छ। स्वास्थ्य मन्त्रालयले ‘महामारीको यो कठिन अवस्थामा अक्सिजन व्यवस्थापनलाई सहज बनाउनका लागि हाललाई अर्को व्यवस्था नभएसम्म उद्योगबाट अस्पतालहरूमा साबिककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराइदिन हुन’ भनेर परिपत्र गरेको हाे।
यस सम्बन्धी आउने थप समस्या हल गर्न उच्चस्तरीय टोली खटाइएको छ। जसले २४सै घण्टा अक्सिजन आपूर्तिका लागि समन्वय गर्ने जनाइएको छ।