२ जेठ २०७५ मै फर्किने सहमति भएको होः नेता नेपाल
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीलाई २ जेठ २०७५ कै अवस्थामा फर्काउन सहमति भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले शुक्रबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै २८ फागुन २०७७ मा ओली पक्षले लिएको निर्णय फिर्ता लिने समेत सहमति भएको बताए। मोडालिटीको विषयमा छलफल गर्न मात्रै कार्यदल बनाउन लागेको उनको भनाइ छ।
“फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्थामा फर्किने हाम्रो बटमलाइन थियो, त्यसमा हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुनुभएको हो,” वरिष्ठ नेता नेपालले भने, “बाँकी मोडालिटीका बारेमा छलफल गर्नका लागि एउटा कार्यदल बनाउन सहमति भएको छ, त्यसमा पनि केही स्पष्टताहरूको आवश्यकता पर्ला, त्यसका निम्ति छलफल गर्न तयार छौं।”
पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार सहमति बनेपछि विपक्षी गठबन्धनको पक्षमा बहुमत पुगेन र संविधानको धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा बढी सदस्य भएको पार्टीको संसदीय दलको नेताका रूपमा ओली पुनः प्रधानमन्त्री नियुक्त भए।
२७ वैशाखमा विश्वासको मतमाथि मतदान हुँदा भने नेपालसहित एमालेका २८ सांसदले संसद् बैठक बहिष्कार गरेका थिए।