निषेधाज्ञामा ब्यांकहरूले सीमित अत्यावश्यक सेवा मात्रै दिने
कोभिड-१९ महामारीका कारण लागू गरिएको निषेधाज्ञाको अवधिमा ब्यांकहरूले सीमित अत्यावश्यक सेवा मात्रै दिने भएका छन्।
नेपाल ब्यांकर्स संघले बिहीबार ब्यांकका शाखा मार्फत नगद झिक्ने र जम्मा गर्नेसहितका सीमित अत्यावश्यक सेवा मात्रै दिने निर्णय गरेको हो। जस अनुसार, ग्राहकले ब्यांकका शाखा मार्फत नगद झिक्न तथा रू.५० हजारभन्दा माथि जम्मा गर्न पाउनेछन्।
त्यस्तै, रकम स्थानान्तरण, रेमिटेन्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सेवा मात्र प्रदान हुनेछ। यसबाहेकका सेवा तत्कालका लागि स्थगित गरिएको संघले जनाएको छ। अन्य जरुरी सेवा लिन पर्ने भएमा ब्यांकका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क राख्न भनिएको छ।
संघको निर्णयसँगै ब्यांक तथा वित्तीय संस्थाबाट ऋण लिनेसहितका सेवा रोकिएका छन्। संघले ब्यांकका एटीएम र कल सेन्टरहरू भने निरन्तर खुला रहने जनाएको छ।