देशका ठूला दुई ब्यांक हिमालयन र नेपाल इन्भेष्टमेण्टबीच मर्जरको सम्झौता
दुई ठूला वाणिज्य ब्यांक हिमालयन र नेपाल इन्भेष्टमेण्ट ब्यांकले एकआपसमा गाभिने (मर्जर) सम्झौता गरेका छन्।
बिहीबार दुई ब्यांकका अध्यक्षले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन्। यसअघि नै यी दुई ब्यांकले एकआपसमा गाभिन आ–आफ्ना सञ्चालक समितिबाट निर्णय गरिसकेका थिए।
हिमालयन ब्यांकका तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेण्ट ब्यांकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे। दुई महीनाभित्र यी ब्यांकले हिमालयन एन्ड नेपाल इन्भेष्टमेण्ट ब्यांकका नाममा एकीकृत कारोबार सञ्चालन गर्नेछन्।
मर्जरपछि बन्ने नयाँ ब्यांकको अध्यक्ष नेपाल इन्भेष्टमेण्ट ब्यांकका वर्तमान अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हिमालयन ब्यांकका वर्तमान सीईओ अशोक राणा रहने सहमति जुटेको छ। डेपुटी सीईओमा इन्भेष्टमेण्ट ब्यांकका वर्तमान सीईओ ज्योति पाण्डे रहनेछन्।
मर्जरपछि यो ब्यांक चुक्ता पूँजीका हिसाबमा नेपालको सर्वाधिक ठूलो बन्नेछ। मर्जरपछि यसको चुक्ता पूँजी कुल रू.२६ अर्ब ९४ करोड पुग्नेछ। यो ब्यांकमा निक्षेप रू.३ खर्ब ११ अर्ब र कर्जा रू.२ खर्ब ८७ अर्ब हुनेछ।
करीब दुई हजार पाँच कर्मचारीले नयाँ ब्यांकमा सेवा दिनेछन्। त्यस्तै, एक दर्जन शाखा स्थानान्तरण भए पनि मर्जरपछि हालका दुबै ब्यांकका गरी एक सय ५२ वटा शाखाले देशभर सेवा दिनेछन्।
देशका दुई ठूला ब्यांक मर्जरमा गएपछि अरू ब्यांकहरूलाई पनि मर्जरमा जान दबाब परेको छ। नेपाल राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाको संख्या कटौतीको योजना अघि सार्दै निरन्तर मर्जरमा जान घचघच्याइरहेको छ। राष्ट्र ब्यांकका अधिकारीहरूले ब्यांक तथा वित्तीय संस्थाहरू मर्जरमा नगए बाध्यकारी मर्जरको नीति अघि सारिने बताउँदै आएका छन्।