कोरोनाबाट भारतमा एकै दिन ४२ सयको मृत्यु
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा तलै रहे पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ। एकै दिनमा चार हजार दुई सय जनाको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार पाँच सय २९ जनामा कोरोना संक्रमण देखिएको छ। यसअघि दैनिक थपिने संक्रमितको संख्या चार लाख नाघेको थियो।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख नौ हजार पाँच सय ५७ पुगेको छ। त्यस्तै, अहिलेसम्म दुई करोड ३३ लाख ४० हजार चार सय ५६ जनामा कोरोना संक्रमण भइसकेको छ। पछिल्लो तीन दिनयता दैनिक थपिने संक्रमितको संख्या चार लाखभन्दा कम रहेको छ।
तर, उपचार नपाउँदा र अक्सिजनको अभाव हुँदा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा चार हजार दुई सय पाँच जनाले ज्यान गुमाएका छन्। यो एकै दिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै बढी हो। यसअघि शुक्रबार सबैभन्दा बढी चार हजार एक सय ८७ जनाको मृत्यु भएको थियो।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार दुई सय २५ पुगेको छ। यो अमेरिका र ब्राजिलपछि तेस्रो हो। अमेरिकामा पाँच लाख ९६ हजार र ब्राजिलमा चार लाख २५ हजारले ज्यान गुमाएका छन्।
मृत्यु हुनेको संख्या पनि सबैभन्दा बढी महाराष्ट्रमै छ। जहाँ पछिल्लो २४ घण्टामा सात सय ९३ जनाले ज्यान गुमाएका छन्।
महाराष्ट्रसँगै तमिलनाडु, केरला, कर्नाटक, पश्चिम बंगाल, उत्तर प्रदेश, पन्जाब र गोवामा संक्रमित थपिने क्रम कम भएको छैन।