‘नयाँ पार्टी गठनको कल्पनासम्म पनि गरेका छैनौं’
ह्वीप उल्लंघनको निहुँमा वा अन्य कारण हामीमाथि कुनै किसिमको कारबाही होला भन्ने हामीलाई लागेको छैन, किनकि हामी एकताबद्ध पार्टीको पक्षमा छौं। हामी अहिले एमालेबाहेक अर्को पार्टी गठनको कल्पना गरिरहेका छैनौं।
हिजो (सोमबार) प्रधानमन्त्रीले संसद्मा विश्वासको मत गुमाउनुभएको छ। एमाले अध्यक्ष समेत रहनुभएका प्रम केपी शर्मा ओलीले विश्वासको मत लिने मतदानमा हामी २८ जना अनुपस्थित रह्यौं। हामीले मतदान गरेकै भए पनि संसद्मा उहाँलाई विश्वासको मत प्राप्त हुने समीकरण थिएन। तर, यो बेग्लै कुरा हो।
हामीले संसद्मा मतदान हुने क्षण केही अघिसम्म पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष समक्ष पार्टीमा मिलेर जाऔं भनेर प्रस्ताव गरेका थियौं। दुबैतर्फका दोस्रो पुस्ताका नेताहरू लागिपरिरहनुभएकै पनि हो। तर, प्रधानमन्त्री हाम्रो सामान्य माग मान्न पनि तयार हुनुभएन।
हामीले भनेका थियौं, गएको २३ फागुनको सर्वोच्च अदालतको एमाले र माओवादी केन्द्र ब्युँताइदिने फैसलापछि नेकपामा रहँदा पार्टीमा जे–जे भए, ती बिर्सिदिऔं र नयाँ ढंगबाट अघि बढौं। माओवादी केन्द्रसँगको एकीकरणअघि अर्थात् २ जेठ २०७५ सालको अवस्थामा पार्टीलाई फर्काऔं। गल्ती दुबै पक्षबाट भएका छन्, बसौं छलफल र आत्मालोचना गरौं, मन माझामाझ गरौं भनेका हौं।
तर, लगातार आफूखुशी निर्णय गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित हामी ३० जनालाई स्पष्टीकरण सोध्ने काम भयो। लाञ्छना र अपमानको त कुरै नगरौं।
यद्यपि हामी अहिले पनि पार्टी एक बनाउने पक्षमा नै छौं। त्यसैले हामीले प्रधानमन्त्रीको विश्वासको मतमा अनुपस्थिति जनाएका हौं। हुन त सांसद पदबाट राजीनामा दिने कि भन्ने कुरा पनि आएका थिए। तर, पार्टीमै रहेर संघर्ष गर्ने निष्कर्ष निस्किएकाले हामीले राजीनामा दिएनौं। पार्टी मिलाएर लैजान मतदानमा अनुपस्थिति नै कम घातक हुन्छ भन्ने हाम्रो ठहर रह्यो।
संसद्मा विश्वासको मतदानमा अनुपस्थित भएर हामीले पार्टीको ह्वीप उल्लंघन गर्यौं। कतिपय साथीहरू हाम्रो अनुपस्थितिलाई नयाँ पार्टी गठन गर्ने हाम्रो तयारीका रूपमा व्याख्या गरिरहेका छन्। तर, यो सत्य होइन। यसलाई पार्टीलाई एकताबद्ध राख्ने हाम्रो प्रयास, एक हिसाबमा दबाब मान्नुपर्ने हुन्छ।
अहिले पनि हामी पार्टी एक भएरै अघि बढ्छ भन्नेमा विश्वस्त छौं। र, यसका लागि प्रयासरत छौं। ह्वीप उल्लंघनको निहुँमा वा अन्य कारण हामीमाथि कुनै किसिमको कारबाही होला भन्ने हामीलाई लागेको छैन, किनकि हामी एकताबद्ध पार्टीको पक्षमा छौं। हामी अहिले एमालेबाहेक अर्को पार्टी गठनको कल्पना गरिरहेका छैनौं।
(सुनसरी-१ बाट निर्वाचित सांसद राईसँगको कुराकानीमा आधारित)