सरकार गठनबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
कांग्रेस सभापति देउवाले आज अपराह्न ३ बजे पदाधिकारी बैठक बोलाएका हुन्। देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ। पदाधिकारीसँगै पूर्वपदाधिकारीलाई पनि बैठकमा बोलाइएको छ।
सरकार गठनका विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। उनका अनुसार, अब कसरी सरकार गठन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मिलिजुली सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छिन्। राष्ट्रपति भण्डारीले दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि दाबी पेश गर्न तीन दिनको समय दिएकी छिन्।