मिलिजुली सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेसँगै विपक्षी तीन दलले मिलिजुली सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले विज्ञप्ति जारी गरी नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
उनीहरूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका हुन्। धारा ७६ को उपधारा (२) मा ‘प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ’ भन्ने उल्लेख छ।