प्रधानमन्त्री ओली भन्छन्– खोप खरीदमा भ्रष्टाचार भएको छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप खरीदमा भ्रष्टाचार नभएको बताएका छन्।
सरकारले प्रतिडोज चार डलरका दरले २० लाख डोज खोप खरीद गरेको बताए। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा भने, “चार डलरका दरले खोप किनेको सबैलाई थाहा छ, तैपनि भ्रष्टाचार भएको छ भन्नुहुन्छ भन्ने छानबिन गरौं।”
उत्पादन गरेका देशसँगसँगै नेपालीले खोप लगाउन पाएको उनको भनाइ छ। ओलीले भने, “अनुदानबाट भए पनि खोप ल्याएका छौं।”
नेपालमा ३१ लाख ४८ हजार डोज खोप भित्रिएको छ। २० लाख ९१ हजार ५११ जनाले पहिलो डोज लगाएका छन् भने ३ लाख ६१ हजार १ जनाले दोस्रो डोज समेत पाएका छन्।