एमाले विभाजन भए नेपाल समूहतिरै सामेल हुनेछु : वामदेव गौतम
उपाध्यक्ष वामदेव गौतमले नेकपा (एमाले) विभाजन भएमा माधवकुमार नेपाल समूहतिरै लाग्ने बताएका छन्।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि पहल नगरेको उनको भनाइ छ। एकताका लागि २ जेठ, २०७५ फर्किन प्रस्ताव गरेको र अध्यक्ष ओलीले फर्किन नसक्ने जवाफ दिएको गौतमको सचिवालयले जनाएको छ।
गौतमले ओलीलाई भनेको उल्लेख गर्दै उनको सचिवालयले भनेको छ, “पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले)को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो। तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ। त्यसैले म त्यस्तो काम गर्न सक्नेछैन।”
त्यसपछि उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्ने जवाफ दिएको सचिवालयले जनाएको छ।
उपाध्यक्ष गौतमले नेपाल समूहको समानान्तर गतिविधि गर्ने काममा सहमति नभएको जनाएको छ, तर उनीहरू पार्टी विभाजन गरेर गएको खण्डमा भने सामेल हुने बताएका छन्। “वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरूले नेकपा (एमाले)मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउने जस्ता काममा मेरो सहमति छैन,” उपाध्यक्ष गौतमले भनेका छन्, “तर, यदि उहाँहरूले चाहे संसद्को ४० प्रतिशतसहित वा त्योबाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।”