संसद्मा उपस्थित नहुनु पनि ह्वीप उल्लंघन नै होः एमाले प्रमुख सचेतक
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विश्वासको मतमा मतदान हुँदा अनुपस्थित हुनु पनि ह्वीप विपरीत हुने बताएका छन्।
वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरूले सोमबार मतदानमा अनुपस्थित हुने निर्णय गरे लगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
हिमालखबरसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भने, “बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा भोट दिनेबाहेकको गतिविधि ह्वीप उल्लंघन नै हो।”
यद्यपि पार्टीका १२१ सांसद नै सदनमा उपस्थित भएर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्छन् भन्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनी भन्छन्, “हाम्रो पार्टीका कुनै पनि सांसद प्रधानमन्त्रीज्यूको विपक्षमा जानुहुन्छ जस्तो लाग्दैन।”
प्रमुख सचेतक भट्टराईले आइतबार ह्वीप जारी गर्दै पार्टीका सम्पूर्ण सांसदहरूलाई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए।