नेपाल समूहले राजीनामा नदिने, संसद् बैठकमा नजाने
नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालकाे समूहले सांसद पदबाट राजीनामा नदिने भएको छ भने आज बस्ने संसद् बैठकमा पनि नजाने भएको छ।
सोमबार बिहान सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले अहिले राजीनामा नदिने निर्णय भएको एमाले सांसद मेटमणि चौधरीले बताए। उनीहरूले आजको प्रतिनिधि सभाको बैठकमा नजाने निर्णय गरेका छन्।
“अहिले राजीनामा नदिने भएका छौं,” सांसद चौधरीले हिमालखबरसँग भने, “आज संसद् बैठकमा पनि नजाने निर्णय गरेका छौं।
आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका छन्। नेपाल समूह संसद् बैठकमा सहभागी नहुने भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसक्ने भएका छन्।