नेपाल पक्षको अल्टिमेटम सकिएको दुई घण्टापछि ओलीले भने– आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिएको अल्टिमेटम सकिएको दुई घण्टापछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानका लागि छलफलमा आउन आह्वान गरेका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै ओलीले भनेका छन्, “आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।”
आइतबार साँझ बसेको नेपाल समूहका नेताहरूको बैठकले प्रधानमन्त्री ओलीलाई आफ्ना मागहरू पूरा गर्न बिहान ९ बजेसम्मको समय दिएको थियो। तर, यस अवधिमा कुनै ‘रेस्पोन्स’ नआएपछि अहिले नेपाल समूहका नेताहरू सिंहदरबारमा छलफलमा छन्।
यही बेला ओलीले ट्वीट गर्दै छलफलका लागि आउन आह्वान गरेका छन्। आलीले भनेका छन्, “हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु।”
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका छन्। यस्तो बेला हतारमा निर्णय नगर्न नेपाल समूहलाई सचेत गराएका छन्।
ओलीले भनेका छन्, “नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ। त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।”