गण्डकीमा मिलिजुली सरकार गठन गर्न आह्वान
गण्डकी प्रदेशमा तीन दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी छिन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ (तीन) दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ।”
संविधानको धारा १६८ को उपधारा (२) मा मिलिजुली सरकार गठन गर्ने व्यवस्था छ। यसमा भनिएको छ, “प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।’
प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठन नभएसम्मका लागि गुरुङ नेतृत्वको सरकारलाई कार्य सञ्चालन गर्न पनि भनेकी छिन्। अहिलेसम्म गरेको कामका लागि प्रदेश मन्त्रिपरिषद्लाई धन्यवाद दिएकी छिन्।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गुरुङविरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावमाथि सोमबार प्रदेश सभामा मतदान हुने कार्यसूची रहेको थियो।