हुकम भन्छ- नियमसम्मत सेवा शुल्क समेत लिएनौं, भारतमा महामारी बढेर खोप आयात रोकियो
भारतबाट ५० लाख खोप खरीदका विषयमा चलखेल गरेको भनी आरोप लागेको हुकाम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक्स प्रालिले खोप खरीदको प्रक्रिया रोक्न आफ्नो कुनै भूमिका नरहेको दाबी गरेको छ।
हुकमले बिहीबार विज्ञप्ति निकालेर भारतमा नै महामारीको दोस्रो लहर शुरू भएको तथा खोप उत्पादक सेरम इन्स्टिच्यूटमा आगलागी भएका कारण खोप आउन रोकिएको जनाएको छ। हुकम सेरम इन्स्टिच्यूटको नेपालस्थित आधिकारिक प्रतिनिधि हो। हुकमले खोप खरीदका लागि अग्रिम भुक्तानी गरिसकेका कैयौं देशले खोप नपाइरहेको बरु नेपाल खोप पाउने सूचीको अघिल्लो प्राथमिकतामा रहेको जनाएको छ।
हुकमले पहिलो चरणमा नेपाल सरकार र सेरम इन्स्टिच्यूटबीच भएको समझदारी अनुसार भएको २० लाख खोप खरीदको प्रक्रियामा नियमसम्मत पाउनुपर्ने सेवा शुल्क समेत नलिएको र त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्र पठाएर धन्यवाद दिएको समेत जनाएको छ। नागरिकको जीवन रक्षाका लागि खोप आयात गर्न कम्पनी तत्पर रहेको तथा आयातका विषयमा सरकारका आधिकारिक निकायसमक्ष प्रस्ताव पेश गरिसकेको हुकामको तर्क छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बिचौलियाका कारण भारतबाट ५० लाख खोप आउन नसकेको भनी सार्वजनिक रूपमा बताएपछि हुकम विवादमा तानिएको थियो। सरकारले भारतको सेरम इन्स्टिच्यूटसँग खरीदको प्रक्रिया अघि बढाएको ५० लाख खोप मूल्यमा कुरा नमिलेपछि रोकिन पुगेको थियो।