खेलाडीमा कोरोना देखिएपछि आईपीएल स्थगित
खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ।
मंगलबार बसेको आईपीएल गभर्निङ काउन्सिल र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को आकस्मिक बैठकले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो। आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ।
बीसीसीआईका अध्यक्ष राजीव शुक्लाले तत्कालका लागि स्थगित गरिएको बताए। अहिले खेलाडीलाई सुरक्षित रूपमा घर फर्काइने बताए। यस वर्ष फेरि प्रतियोगिता हुन्छ वा हुन्न भन्ने यकिन नभएको उनको भनाइ छ।
सोमबार केकेआरका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको थियो। त्यस्तै, मंगलबार थप दुई खेलाडी सनराइजका ऋद्धिमान शाह र दिल्लीका अमित मिश्रालाई कोरोना देखिएको हाे।
यससँगै सीएसकेका बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजीलाई पनि कोरोना देखिएको छ। अन्य दुई कर्मचारीमा पनि कोरोना देखिएको जनाइएको छ।
अहिले आईपीएल मध्यतिर पुगेको थियाे। ३० खेल भएका थिए भने अझै २९ खेल बाँकी थिए।