नेपालमा ११ लाख बाल श्रमिक, दलित समुदायका बालबालिका धेरै
नेपालमा पाँचदेखि १७ वर्ष उमेरका ७० लाख बालबालिकामध्ये ११ लाख बाल श्रमिकका रूपमा काम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ।
केन्द्रीय तथ्यांक विभाग र अन्तर्राष्ट्रिय श्रम संगठनले संयुक्त रूपमा सार्वजनिक गरेको 'नेपाल बाल श्रम प्रतिवेदन २०२१' ले कुल बालबालिकामध्ये १५.३ प्रतिशत श्रमिकका रूपमा रहेको देखाएको हो। यद्यपि, सन् २००८ को तुलनामा बाल श्रमिकको संख्यामा ठूलो कटौती भएको छ। सन् २००८ मा देशमा १६ लाख बाल श्रमिक रहेको भेटिएका थिए।
कुल बाल श्रमिकमध्ये ८७ प्रतिशत कृषि क्षेत्रमा संलग्न छन्। जातिगत आधारमा दलित समुदायका १९.४ प्रतिशत बालबालिकाले श्रम गर्ने गरेको पनि अध्ययनले देखाएको छ।
बाल श्रमिकको संख्या उल्लेख्य रूपमा घटे पनि अझै पनि बाल श्रम रोक्न ठूलो पहलकदमी जरुरी भएको प्रतिवेदनले औंल्याएको छ।
“जोखिमयुक्त क्षेत्रमा बाल श्रमिकको संख्या दुईतिहाइले घटेको छ, यद्यपि बाल श्रम रोक्न र बालबालिकाको सुरक्षाका लागि यस सम्बन्धी नीति र कानून कार्यान्वयनमा ध्यान पुर्याउनु आवश्यक छ,” अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित आवासीय निर्देशक रिचर्ड होवार्डले भने।
कृषि क्षेत्रमा सबैभन्दा धेरै बाल श्रमिक रहेको अध्ययनले देखाएको छ। कुल बाल श्रमिकमध्ये ८७ प्रतिशत कृषि क्षेत्रमा संलग्न छन्। जातिगत आधारमा दलित समुदायका १९.४ प्रतिशत बालबालिकाले श्रम गर्ने गरेको पनि अध्ययनले देखाएको छ। जनजातिका १८.१ प्रतिशत, बाहुन क्षेत्रीका १४.५ प्रतिशत बालबालिका बाल श्रमिक छन्।
सबैभन्दा थोरै नेवार समुदायका ९.९ प्रतिशत बालबालिका श्रमिक छन्। क्षेत्रगत रूपमा कर्णालीका चारमध्ये एक बालबालिका श्रम गर्न बाध्य रहेको देखिएको छ।
अध्ययनका अनुसार, बाल श्रमिकमध्ये शहरी क्षेत्रका ३.३ प्रतिशत र ग्रामीण क्षेत्रका २.९ प्रतिशत जोखिमयुक्त क्षेत्रमा काम गर्न बाध्य छन्। १७ प्रतिशत बालिका र १४ प्रतिशत बालक श्रमिक छन्।
कमजोर शैक्षिक र आर्थिक अवस्था भएका अभिभावकका छोराछोरी बाल श्रम गर्न बाध्य बनेको अध्ययनको निष्कर्ष छ। नेपाल सरकारले सन् २०२५ भित्र बाल श्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।