मोरङमा एक साता निषेधाज्ञा जारी
कोरोनाभाइरसको संक्रमण तीव्र फैलिन थालेपछि मोरङमा विराटनगर महानगरपालिका र तीन गाउँपालिकामा शनिबार मध्यरातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।
१८ वैशाख राति १२ बजेदेखि विराटनगर महानगरका सबै वडा, बूढीगंगा गाउँपालिका र जहदा गाउँपालिकाका सबै वडा तथा कटहरी गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ मा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा आदेश जारी गरेको हो।
तोकिएका क्षेत्रहरूमा यो अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरी लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल तथा व्यवसाय बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। यस्तै, निर्माण सामग्री सम्बन्धी पसल र निर्माण सामग्री ओसारपसार बिहान १० बजेसम्म गरिसक्न आदेशमा भनिएको छ।
गुद्री बजार, सब्जी मन्डी, होटल, रेस्टुराँ, सैलुन, इ-रिक्सा सञ्चालनमा रोक लगाइएको छ।
औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी निस्किनेबाहेक अरू प्रयोजनमा स्थानीयलाई घर बाहिर निस्किन रोक लगाइएको छ।
छिमेकी मुलुक भारतसँगको सीमाक्षेत्रहरूमा संक्रमणको तीव्र विस्तार भइरहेकाले सीमानाकाहरुबाट हुने आवागमन पूर्ण रूपमा बन्द गर्ने पनि आदेशका बुँदामा उल्लेख छ।
आदेश अनुसार, जिल्लाभरिका जुनसुकै स्थानमा राति ८ बजेदेखि बिहान पाँच बजेसम्म हिँडडुल गर्न पाइनेछैन।