यो वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशत र प्रतिव्यक्ति आय एक हजार १९१ डलर पुग्ने
केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यो वर्ष आर्थिक वृद्धिद्धर ३.९८ प्रतिशत हुने आकलन गरेको छ।
विभागले आगामी १ जेठदेखि आर्थिक क्रियाकलाप सामान्य हुने अनुमानका आधारमा आर्थिक वृद्धिदरको यस्तो सम्भाव्य चित्र सार्वजनिक गरेको हो। यद्यपि, कोरोनाभाइरसको संक्रमण रोकथामका लागि काठमाडौंसहितका शहरमा लगाइएको निषेधाज्ञा लम्बिएमा भने वृद्धिदर आकलनभन्दा तल जानसक्ने विभागको अनुमान छ।
महामारीले निम्त्याएको विपद्का कारण गत आर्थिक वर्ष २०७६/७७ मा देशको आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक भएको थियो। देशको अर्थतन्त्र चार दशकपछि पहिलो पटक गत वर्ष संकुचित भएको थियो। विभागले २०७७ वैशाखमा आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरे पनि बन्दाबन्दी लम्बिँदै गएपछि अन्तिममा अर्थतन्त्र संकुचित भएको थियो।
चालू आर्थिक वर्षको बजेटले यो वर्ष करीब ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। तर, महामारीका कारण आर्थिक क्रियाकलाप सुस्त हुँदा त्यसको असर वृद्धिदरमा पर्ने भएको हो।
महामारी मत्थर नभएर निषेधाज्ञा लम्बिँदै गए यो वर्ष पनि अर्थतन्त्र ऋणात्मक हुनसक्ने जोखिम छ। विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले भने, “गत वर्ष २.२७ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरिएकोमा बन्दाबन्दी लम्बिएपछि अर्थतन्त्र २ प्रतिशतभन्दा बढीले ऋणात्मक हुनपुग्यो। यो वर्ष पनि १ जेठपछि आर्थिक क्रियाकलाप सामान्य भएन भने आर्थिक वृद्धिदर अहिले अनुमान गरिएको भन्दा तल जानसक्छ।”
चालू आर्थिक वर्षको बजेटले यो वर्ष करीब ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। तर, महामारीका कारण आर्थिक क्रियाकलाप सुस्त हुँदा त्यसको असर वृद्धिदरमा पर्ने भएको हो।
यसअघि, बहुपक्षीय ऋणदाता विश्व ब्यांकले चालू आर्थिक वर्षमा २.७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। त्यस्तै, एसियाली विकास ब्यांकले ३.१ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो।
२०७२ सालको भूकम्पपछिका तीन आर्थिक वर्षमा देशको अर्थतन्त्रको विस्तार लगातार उच्च गतिमा भएको थियो। आर्थिक वर्ष २०७३/७४ पछिका तीन आर्थिक वर्षमा वार्षिक औसत वृद्धिदर ७.४५ प्रतिशत पुगेको थियो।
प्रतिव्यक्ति आय एक हजार १९१ डलरमा सीमित हुने
आर्थिक वृद्धिदरमा सुस्ततासँगै महामारीका कारण नेपालीको औसत प्रतिव्यक्ति आयमा पनि खासै विस्तार हुनसकेको छैन। विभागका अनुसार, नेपालीको प्रतिव्यक्ति आय यो वर्ष एक हजार १९१ डलरमा सीमित हुनेछ। कोरोना महामारीको प्रभाव शुरू हुनुअघि आर्थिक वर्ष २०७५/७६ मा नेपालीको प्रतिव्यक्ति आय एक हजार १५९ डलर थियो।
विभागले यो वर्ष नेपालको अर्थतन्त्रको आकार रू. ३७ खर्ब ३३ अर्ब हुने अनुमान गरेको छ।
यो वर्ष कृषि क्षेत्रको वृद्धिदर २.६४ प्रतिशत हुने अनुमान छ। रोपाइँका बेला वर्षा राम्ररी भएपछि धानको उत्पादन बढेर कृषि क्षेत्रको वृद्धिदर सकारात्मक हुन सघाएको थियो। यो वर्ष उद्योग क्षेत्र ३.८५ प्रतिशत, निर्माण क्षेत्र ५.५६ प्रतिशत र यातायात तथा भण्डार ६.१२ प्रतिशतले बढ्ने अनुमान छ। माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन हुन लागेकाले यो वर्ष विद्युत्, ग्यास जस्ता क्षेत्र ७.७४ प्रतिशतले बढ्ने अनुमान छ।
महामारीले गत वर्ष होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई गहिरो मार पारे पनि यो वर्ष भने सुधार हुने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा होटल तथा रेस्टुरेन्ट क्षेत्रको कुल मूल्य अभिवृद्धि ११.२ प्रतिशत हुनेछ। गत वर्ष यो क्षेत्रको मूल्य अभिवृद्धि दर घटेर बेस खुम्चिएकाले यो वर्ष सुधार देखिन लागेको हो।