यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने एडीबीको अनुमान
एसियाली विकास ब्यांकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशत हुने आकलन गरेको छ।
बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२१ प्रकाशित गर्दै ब्यांकले गत आर्थिक वर्षमा नकारात्मक वृद्धि भएको अर्थतन्त्र चालू वर्ष धीमा गतिमा विस्तार हुने अनुमान गरेको हो। गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्र १.९ प्रतिशतले ऋणात्मक भएको थियो।
यद्यपि, १६ वैशाखदेखि काठमाडौं उपत्यकामा कम्तीमा दुई सातासहित देशका अन्य स्थानमा पनि निषेधाज्ञा लगाइएपछि यसले चालू आर्थिक वर्षको वृद्धिदरमा पनि ठूलो असर पर्ने जोखिम छ। कोभिड-१९ को महामारी मत्थर नभए निषेधाज्ञा र बन्दाबन्दी लम्बिँदै जानसक्छ, जसको प्रभाव अर्थतन्त्रमा पर्नेछ।
एडीबीले पनि महामारी मत्थर नभएमा यसको रोकथामका लागि लगाइने प्रतिबन्धहरूका कारण अर्थतन्त्रको वृद्धि अहिले अनुमान गरिएभन्दा कम हुनसक्ने बताएको छ।
ब्यांकले गत साउनयता बन्दाबन्दी क्रमशः खुकुलो बनाउँदै लगेसँगै आर्थिक क्रियाकलाप र वस्तु तथा सेवाको माग बढेको जसले गर्दा अर्थतन्त्रलाई चलायमान बनाएको उल्लेख गरेको छ।
यो आर्थिक वर्षमा धानको उत्पादन बढेकाले कृषि क्षेत्रको वृद्धिदर २.४ प्रतिशत हुने एडीबीको अनुमान छ। निर्माण, उद्योग जस्ता क्षेत्रले बिस्तारै गति समात्न थालेको तथा साना तथा मझौला उद्योगका लागि सरकारले दिएका अनुदानसहितका कार्यक्रमले सहायता पुर्याएको ब्यांकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
यो वर्ष उद्योग क्षेत्र २.४ प्रतिशत र सेवा क्षेत्र ३.४ प्रतिशतले बढ्ने आकलन छ। ब्यांकले यो वर्ष मूल्यवृद्धि दर ५ प्रतिशतमा सीमित रहने पनि बताएको छ।
ब्यांकले आगामी आर्थिक वर्षमा भने महामारी मत्थर भएमा तथा खोपको विस्तार हुन सकेमा नेपालको आर्थिक वृद्धिदर ५.१ पुग्नसक्ने अनुमान गरको छ।