याे औलोको मौसम हाे !
लामखुट्टेले टोक्दा हुने औलो कीटजन्य सरुवा रोगमध्ये सबभन्दा डरलाग्दो स्वास्थ्य समस्या हो।
हाम्रो देशका तराई, भित्रीमधेस र पहाडका पनि शहरबजारमा वर्षैभरि लामखुट्टे लाग्ने हुनाले खास गरेर गर्मीसँगै औलोको जोखिम बढ्छ। गर्मीमा वर्षात् हुन थालेपछि अन्य कीटपतङ्ग जस्तै लामखुट्टेको संख्या बढ्छ। लामखुट्टेको वृद्धि पानी जम्ने ठाउँ (ताल, तलाउ, नाली, पोखरी) मा हुने भएकोले बर्खामै हो औलोले महामारीको रूप लिने।
लामखुट्टेको टोकाइले औलो संक्रमण भएर मस्तिष्काघात (सेरेब्रल मलेरिया) बाट मानिसको मृत्यु हुन्छ। २५ अप्रिलमा मनाउन लागिएको औलो दिवस यस्तो घातक परिणाम ल्याउने लामखुट्टेलाई खेलाँचीको रूपमा लिने चलन हटाउन प्रभावकारी हुन सक्नुपर्छ।
वातावरणीय सरसफाइमा जनचेतना जगाउन सकेकाले सन् २००० सम्ममा विश्वभर औलोबाट हुने मृत्युदरमा करीब ६० प्रतिशत कमी आयो। र पनि, गत वर्ष विश्वभर साढे २१ करोड मानिस औलोबाट संक्रमित भए, जसमध्ये साढे चार लाख बाँच्न सकेनन्। मृत्यु हुनेमा धेरैजसो अति कम विकसित राष्ट्रका मानिस छन्।
औलो लाग्दा कम्पनसहित ज्वरो आउने, कलेजो तथा फियो बढ्ने, रक्तअल्पता हुने, जीउ दुख्ने, टाउको दुख्ने, जोर्नीहरू दुख्ने हुन सक्छ। शुरूमा जाडो महसूस हुन्छ र त्यसपछि तातो भएर पसिना खलखली आई ज्वरो ओर्लिन्छ।
विश्वका विभिन्न ठाउँमा वर्षैभरि कालाज्वर, डेंगु, चिकनगुनिया, औलो लगायत रोगका संक्रमण देखिन्छन्। गर्मी र वर्षात् मौसममा त्यस्ता संक्रमणले यदाकदा महामारीको रूप लिने गरेका छन्। हालै मात्र लामखुट्टेबाट हुने जिका भाइरल संक्रमणले विश्वलाई आतंकित पार्यो। नेपाल जस्तो स्वच्छ खानेपानी र सरसफाइमा कमी भएको देशमा कुनै पनि वेला जुनसुकै रोगको संक्रमण फैलिन सक्छ।
नेपालमा धेरै थरीका कीटजन्य स्वास्थ्य समस्या वा सरुवा रोगहरू आइलागिरहन्छ। कतिपय ठाउँमा वर्षैभरि सरुवा रोगका संक्रमणहरू देखिन्छन्। स्वच्छ खानेपानी, सरसफाइ र सबभन्दा महत्त्वपूर्ण कुरा जनचेतनाको अभावमा यस्तो भइरहेको छ।
एनोफिलस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट औलो रोग लाग्छ। औलो रोग गराउने कारक परजीवी चाहिँ प्लाज्मोडियम हो। औलो गराउने परजीवीले संक्रमित मानिस र अन्य लामखुट्टेमा गरी आफ्नो जीवनचक्र पूरा गर्छ। संक्रमित अन्य लामखुट्टे वा संक्रमित मानिसलाई टोकेको लामखुट्टेले टोकेजति सबैमा प्लाज्मोडियम परजीवी पुग्छ। प्लाज्मोडियमहरू रगतको माध्यमबाट कलेजोका कोषिकाहरूमा पुगेर आफ्नो विकास गर्छन्। कलेजोका कोषिकाहरूमा विकासका विभिन्न चरण पार गरेर रातो रक्तकोषमा संक्रमण गर्न पुग्ने परजीवीहरू भाले र पोथीको रूपमा विकसित हुन्छन्।
औलो लाग्दा कम्पनसहित ज्वरो आउने, कलेजो तथा फियो बढ्ने, रक्तअल्पता हुने, जीउ दुख्ने, टाउको दुख्ने, जोर्नीहरू दुख्ने हुन सक्छ। शुरूमा जाडो महसूस हुन्छ र त्यसपछि तातो भएर पसिना खलखली आई ज्वरो ओर्लिन्छ। औलो गराउने परजीवीको उपजाति अनुसार ज्वरो आउने समय फरक हुन्छ।
उपचारको क्रममा क्विनिन, मेफ्लोक्विन जस्ता औषधि पनि चाहिन सक्छन्। औलो उपचारका क्रममा औषधिको अलावा झोल खानेकुरा बढी खानुपर्छ। बिरामीलाई पातलो लुगा लगाइदिएर भरसक खुला ठाउँमा राख्नुपर्छ।
औलो पत्ता लगाउन रगत र पिसाब जाँच्नुका साथै भिडियो एक्सरे पनि गरिन्छ। औलो भएको अवस्थामा आजकल धेरैजसो क्लोरोक्विन नामक औषधि चलाइन्छ। उपचारको क्रममा क्विनिन, मेफ्लोक्विन जस्ता औषधि पनि चाहिन सक्छन्। औलो उपचारका क्रममा औषधिको अलावा झोल खानेकुरा बढी खानुपर्छ। बिरामीलाई पातलो लुगा लगाइदिएर भरसक खुला ठाउँमा राख्नुपर्छ।
औलोबाट बच्न घर छेउछाउ सफा राख्नुपर्छ। लामखुट्टेबाट बच्न राति क्वाइल वा म्याट बाल्नुभन्दा झन्झटिलो भए पनि झुल प्रयोग गर्नु बुद्धिमानी हुन्छ। विशेषतः गर्भवती महिला र बालबालिकालाई जहिल्यै झुलभित्र सुताउनुपर्छ। तराई तथा भित्रीमधेसमा साँझपख घरबाहिर बस्दा हातखुट्टा पूरै छोपिने लुगा लगाउने गर्नुपर्छ।
पशुपालन गर्ने किसानहरूले गोठ वा खोर घरबाट टाढै बनाउनुपर्छ। कुनै कारणले औलो प्रभावित क्षेत्र जानु परे अगाडि र त्यहाँबाट फर्केपछि चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार क्लोरोक्विन औषधि खानुपर्छ।
(हिमाल खबरपत्रिकाकाे १२-१८ वैशाख २०७३ अंकबाट)